काठमाडौँ । पर्सा प्रहरीले वीरगञ्जस्थित एक ट्रान्सपोर्टमा छापामारी १८ लाख रुपैयाँ बराबरको भन्सार छली गरी ल्याइएको अवैध कपडा बरामद गरेको छ।
भन्सार छलेर कपडा ल्याएर राखिएको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरस्थित जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टमा छापा मारेको थियो।
सोही स्थान बस्ने गोविन्द वर्णवालको घरमा वीरगञ्ज-८ बस्ने मदन गुप्ताले संचालन गरेको उक्त ट्रान्सपोर्टबाट अठार लाख मूल्य बराबरको भन्सार छलीको कपडा बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।
बरामद गरिएको कपडालाई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सारमा बुझाइने थापाले बताए। यसैगरि वीरगञ्ज महानगरपालिका-८ घण्टाघरबाट प्रहरीले १५ लाख बराबरको भन्सार छली गरी ल्याइएको विभिन्न किसिमका कपडा, चकलेट र प्याजलगायतका सामानहरु बरामद गरेको छ।
बरामद गरिएका सामानहरूलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको पर्सा प्रहरीले जानकारी दिएको छ।