काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकामा ब्रह्मायणीको रथयात्रा गरिएको छ ।
नगरपालिकाको वडा नं ५ मा रहेको उक्त मन्दिरबाट ब्रह्मायणीको मूर्तिलाई वडा नं ६ स्थित गैरीबिसौना माइपाटीमा राखिएको हो । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिनदेखि सुरु हुने रथ यात्रा तीन दिनसम्म चल्नेछ ।
स्थानीय चुडामणि डोटेलका अनुसार रथ तानेको दिन सूर्यास्तपछि खाना खान नहुने भन्ने मान्यता छ ।
त्यसको भोलिपल्ट रातको १२ बजे पुन रथ यात्रा गरी घुमाउने भन्ने ठाउँमा लगिन्छ । यो ठाउँ ब्रह्मायणीको मावली मानिन्छ । ब्रह्मायणी माइको उत्पत्ति १४०८ सालको भदौमा महिनामा दुलालहरूको बसोबासस्थलमा भएको जनविश्वास छ ।
ब्रह्मायणी माइको उत्पत्ति भएको स्थानमा दुलाल परिवारको घर थियो । दुलाल परिवार त्यसपछि त्यहाँबाट स्थानान्तरण भई केही तल भदौरेमा बस्न थाले । सो स्थानमा मन्दिर बनाई ब्रह्मायणी माइको स्थापना गरिएको थियो ।