काठमाडौँ । सशस्त्र प्रहरी बलले नेपाल-भारत सीमा क्षेत्रमा हराएका १५ सीमा स्तम्भको पुनर्स्थापना र २ हजार १३५ सीमा स्तम्भको मर्मत सम्भार गरेको छ ।
नापी विभागको तथ्यांकअनुसार नेपाल-भारतबीच ८ हजार ८५३ सीमा स्तम्भ छन् । जसमध्ये सशस्त्र प्रहरी बलले ३ चैतसम्म १७ जिल्लाका २ हजार १३५ सीमा स्तम्भको मर्मत सम्भार गरेको प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए ।
१६ कात्तिकमा मधेश प्रदेशको छिन्नमस्ता बाहिनीबाट सीमा स्तम्भको मर्मत सुरु गरिएको थियो । हालसम्म झापामा १७० वटाको रंगरोगन, १२८ वटाको सामान्य मर्मत, १६ वटाको मध्यमस्तरको मर्मत र ३ वटाको पूर्ण मर्मत गरिएको छ ।
त्यस्तै मोरङमा ३३, सुनसरीमा १३३, सिरहामा १६५, धनुषामा १५४, महोत्तरीमा १४, सर्लाहीमा १३७, बारामा ११२, पर्सामा ४०१, पश्चिम नवलपरासीमा ९, रुपन्देहीमा ७३, कपिलवस्तुमा २७३, दाङमा ३५, बाँकेमा ७१, बर्दियामा ३९, कैलालीमा १०३ र कञ्चनपुरमा ६७ गरी २ हजार १३५ सीमा स्तम्भको मर्मत गरिएको छ ।
त्यस्तै पर्साका ४, झापा र कञ्चनपुरका ३र३, कपिलवस्तुका २, सुनसरी, बारा र कैलालीका १र१ गरी १५ वटा सीमा स्तम्भको पुनर्निर्माण गरिएको छ । पहिला रहेका तर अहिले हराएको पाइएपछि ती ठाउँहरूमा नयाँ सीमा स्तम्भ निर्माण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सरकारले सीमा स्तम्भको मर्मत सम्भार जिम्मा सशस्त्र प्रहरी बललाई दिएपछि नापी विभागको सहयोगमा सीमा स्तम्भ मर्मत सम्भार गरिएको हो ।
नेपाल-भारत बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लुजी) को पाँचौँ बैठकले सन् २०१४ पछि मर्मत तथा निर्माण भएका सीमा स्तम्भमध्ये जोर नम्बरको सीमा स्तम्भ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एपीएफको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ एपीएफले एसएसबीको उपस्थितिमा मर्मत सम्भार गर्ने निर्णय गरेको थियो ।