काठमाडौँ । ताइवानमा भूकम्पबाट भएको धनजनको क्षतिप्रति नेपालका सांसदहरूले पनि दुःख व्यक्त गरेका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसदहरूले ताइवानलाई सक्दो सहयोग गर्न नेपाल सरकारलाई आग्रह समेत गरे ।
राष्ट्रिय सभा सदस्य सुरेश आलेमगर र जितजंग बस्नेतले ताइवान यतिबेला दुःखमा रहेको भन्दै नेपाल सरकारबाट सक्दो सहयोग गर्नुपर्ने बताएका हुन् । आलेमगरले ताइवान भूकम्पमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
राष्ट्रिय सभाका अर्का सदस्य बस्नेतले ताइवानमा विनाशकारी भूकम्पबाट ठूलो धनजनको क्षति भएको भन्दै दुःख व्यक्त गरे ।
बुधबार बिहान ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी अहिलेसम्म ७ जनाको मृत्यु भएको र ७०० बढी घाइते भएको विवरण आएको सीएनएनले जनाएको छ ।
ठूला घर लगायतका भौतिक संरचनाहरू भत्किएका छन् । भग्नावशेषबाट उद्धार गर्ने, घाइतेहरूको उपचार गर्ने र भूकम्प प्रभावितहरूलाई राहत सामग्री पुर्याउने काम जारी छ ।