काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन् ।
बुटवलस्थित प्रदेश प्रमुखस्ँग शपणग्रहणपश्चात मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा आइतबार पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका हुन् ।
मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भ्रष्टाचार निवारण र सुशासनको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवम् विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको छ । यो कार्यदलले २ महिनाभित्र कार्ययोजनासहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्नेछ ।
मुख्यमन्त्री महराले प्रदेशको समग्र विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा नागरिकको सहज पहुँच बढाउने जिम्मेवारी सरकारले लिने उनको भनाइ थियो ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रदेश तहबाट प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।