काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी संगठनको शिरलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
प्रहरी अस्पताल महाराजगन्जको ४०औँ वार्षिकोत्सव समारोहमा प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो पेसा एवम् सेवाप्रति संवेदनशील हुन र आन्तरिक प्रतिस्पर्धा तथा अन्य सांगठिनक मूल्य मान्यतामा क्षय हुने क्रियाकलापमा नरुमल्लिई समग्र संगठनको शिरलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्न अस्पतालका सम्पूर्ण चिकित्सक तथा प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् । प्रहरी अस्पतालमा सेवा लिन आउने बिरामी प्रतिको व्यवहार र सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहने भन्दै उनले मंगलबार यस्तो निर्देशन दिएका हुन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषबाट अस्पताललाई प्रदान हुने २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरे । उनले अस्पतालमा नवनिर्मित इमर्जेन्सी भवन र मोडुलड अप्रेसन थिएटरको उद्घाटन गर्नुका साथै अवलोकन तथा बिरामीसँग भेटघाट समेत गरे ।
अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०८०’ र नेपाल मेडिकल जर्नलको लोकार्पण समेत उनले गरे । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघका अध्यक्ष लक्ष्मी कुँवरले ह्विल चियर १० थान अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरिन् ।
