काठमाडौँ । नेपाल चिकित्सक संघले नेशनल मेडिकल कलेजका ल्याबका डा. सञ्जय साहलाई रिहा गर्न माग गरेको छ। नेपाल चिकित्सक संघ नारायणी शाखाले प्रेस विज्ञप्ति जारी गरी अनुगमनका क्रममा प्रहरीले पक्राउ गरेको डा. साहलाई रिहा गर्न माग गरेको हो।
डा. साहको मानमर्दन हुने गरी आपराधिक शैलीमा प्रहरी प्रशासनले पक्राउ गरी लगेको घटनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पेशागत दायित्व निर्वाह गर्ने क्रममा कहीँ–कतै सामान्य कमीकमजोरी भएमा त्यसको सत्यतथ्य छानबिन गर्ने कानुनी विधि प्रक्रिया रहेको जानकारी गराएको छ।
संघका नारायणी शाखाका सचिव डा.नौसाद हकद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत डा. साहलाई अविलम्ब रिहा गर्न प्रहरी प्रशासनसमक्ष माग गर्दै उनलाई न्याय दिलाउनका संघ, नारायणी शाखा जुनसुकै संघर्ष गर्न पछि नपर्नेसमेत चेतावनी दिइएको छ।
गत सोमबार वीरगञ्ज महानगर, प्रहरी र सरोकारवाला निकायको टोलीले नेशनल मेडिकल कलेजको ल्याब अनुगमन गरेको थियो। सो क्रममा ल्याबबाट म्याद गुज्रिएको केमिकल भेटिएपछि प्रहरीले कलेजका एमडी सहनवाज अन्सारी र ल्याबका इन्चार्ज डा. सञ्जय साहलाई पक्राउ गरेको थियो।
सम्बन्धित समाचार : आफूलाई डाक्टर बताउने चिकित्सक पक्राउ
दुवै जनाविरुद्ध प्रहरीले कालोबजारी मुद्दामा अदालतबाट दुई दिनको म्यादसमेत थप गराएको छ।
सम्बन्धित समाचार : नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई थुनामा राख्न अनुमति
