काठमाडौँ । ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानको पहलमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
धार्मिक एवं पर्यटकीय स्थल पशुपतिनाथ मन्दिरको मृगस्थली श्लेषमानतक बनमा गृह सचिव एकनारायण अर्यालको प्रमुख आतिथ्यतामा सोमबार वृक्षारोपण कार्यक्रम भएको हो । कार्यक्रममा गृह सचिव अर्यालले नेपालको नयाँ र पहिलो अभियानमा सामेल हुने अवसर पाएकोमा खुसी व्यक्त गरे ।
‘७७ जिल्लाका ७५३ वटै पालिकामा यो अभियान पुर्याउनुपर्ने आवश्यकता छ । यो सकारात्मक सोच समाजमा रहेका विभिन्न वर्ग र समुदायका व्यक्तिमा पुर्याउनुपर्ने छ’, उनले भने, ‘तीन करोड नेपालीको जन्मदिनमा एउटा बिरुवा रोप्यो भने मात्र पनि वातावरण स्वच्छ हुनेछ । यो अभियान विश्वमा फैलिनु पर्छ ।’ समाजका अगुवाहरूले जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ ।

तराई विकास तथा सञ्चार केन्द्र, नेपालद्वारा आयोजित रौतहटबाट सुरु भएको ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियान अन्तर्गत सहभागी सबैले आ–आफ्नो जन्मदिन सम्झिएर रुद्राक्ष, पिपल, चन्दनलगायतका बिरुवा रोपण गरिएको अभियानका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष गोविन्द प्रसाद चौलागाईले बताए । उनले अभियानलाई विश्वभर फैलाउन हरेक संघसंस्थाका कर्मचारी, कलाकार, पत्रकार तथा समाजका अगुवा सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौँमा मात्र नभई यो अभियान देशभर नै फैलाउन सरोकारवाला सबै लागि पर्नुपर्ने आवश्यक रहेको बताए । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले अभियानमा उपस्थित भएर बिरुवा रोपण गर्न पाउँदा खुसी लागेको बताए । अर्थ मन्त्रालयकी सहसचिव पार्वती शर्मा काफ्लेले अभियानले समाजमा सहयोगी भावना उत्पन्न गराउने बताइन् ।
कार्यक्रममा अभिनेत्रीहरू दीपाश्री निरौला, केकी अधिकारी, रजनी केसी, मालिका महत, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, गायक युवराज चौलागाई, काठमाडौँका प्रमुख जिल्ला बन अधिकृत पुष्पराज बर्तौला, वरिष्ठ अधिवक्ता स्वागत नेपाल, निर्देशक तथा निर्माता लक्ष्मण सुवेदी लगायत विभिन्न संस्थाका कर्मचारी तथा प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
यसअघि सोही अभियान अन्तर्गत काठमाडौँको तीनकुने र ललितपुरको लाँकुरी भन्ज्याङमा पनि वृक्षारोपण गरिएको थियो ।
