काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनमा मतदाता परिचय पत्रसँगै अन्य जुनसुकै परिचयपत्रबाट मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभा उपनिर्वाचनमा मतदाताको पहिचान खुल्ने जुनसुकै परिचय पत्रका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।
आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगले जानकारी दिएको छ ।
वैशाख १५ गते शनिवार इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर दुई र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर एकको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर एकमा उपनिर्वाचन हुँदैछ ।