काठमाडौँ । देशभर सवारी दुर्घटना बढिरहेको अवस्थामा पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले सवारी चालक तथा परिचालकहरूलाई प्रशिक्षण सञ्चालन गरिरहेको छ।
सडक दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित प्रालिमा आबद्ध चालक तथा सहचालकहरूलाई प्रशिक्षण सञ्चालन गरिएको प्रालिले जनाएको छ।
मंगलबार भएको प्रशिक्षणमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सवारी दुर्घटना हुनुका पछाडि यात्रु, अन्य सडक प्रयोगकर्ता, सवारी साधन, भौगोलिक तथा सडकको अवस्था, छाडा चौपाया, मौसम लगायत धेरै कारण हुने भए पनि सवारी साधनको चाबी चालकको हातमा हुने भएकोले जिम्मेवारी पनि धेरै चालककै हुने बताए।
उनले सडक र सवारी साधनको अवस्था र यात्रुहरूको मनोविज्ञानलाई बुझेर गाडी चलाउने हो भने दुर्घटना न्यूनीकरण गर्न सकिने बताए।
प्रहरी नायब महानिरीक्षक कडायतले सवारी धनी, यात्रु र चालकलाई एकरूपतामा नहेर्दासम्म सवारी दुर्घटना न्यूनीकरण गर्न नसकिने भन्दै सवारी सहजीकरण, यात्रुमैत्री र सुरक्षित यात्राका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताए।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले धार्मिक कार्य, जन्म र मृत्युपछिको दाहसंस्कारको लागि समेत सवारी चालकको भरमा यात्रा गर्नुपर्ने भएकोले यो पेशा मात्र नभई पुण्यको काम भएको उल्लेख गर्दै पेशालाई सम्मानित बनाइरहने दायित्व चालकहरूको हातमा रहेको बताए।
उनले प्रालिले चालक तथा मजदुरहरूको श्रमको सम्मान गर्ने सवालमा कुनै पनि कसर बाँकी नराख्ने भन्दै चालकहरूकै आर्थिक सुरक्षाको लागि दुर्घटना बीमासँगै जीवन बीमाको योजना अगाडि सारिएको बताए।
प्रालिले आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण समिति गठन गरी २०६६ सालदेखि नियमित रूपमा चालक केन्द्रित प्रशिक्षण सञ्चालन गर्दै आएको छ।