काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरूलाई आ-आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेसागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ ।
चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरूले कार्यालय समयमा निजी स्वास्थ्य संस्थाहरूमा काम गर्ने गरेको र सो प्रयोजनको लागि विभिन्न सञ्चार माध्यमबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने गरेको पाइएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
‘मन्त्रालय र अन्तरगतका विभाग, अस्पताल, केन्द्र तथा मातहतका निकाय एवं कार्यालयमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले कार्यालय समयमा निजी क्षेत्रका विभिन्न अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकल हलहरूमा बिरामी जाँच गर्ने लगायतका काम गर्ने र सो प्रयोजनको लागि विभिन्न सञ्चार माध्यमबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने गरेको भन्ने गुनासो प्राप्त हुन आएको हुँदा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, स्वास्थ्य सचिव मधु सुदन बुर्लाकोटीले दिएको निर्देशनमा भनिएको छ, ‘मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा यसरी सरकारी स्वास्थ्य संस्था बाहेकका निजी स्वास्थ्य संस्थाहरूमा काम गर्ने र सो प्रयोजनको लागि विज्ञापन समेत गराउनु प्रचलित कानून, नैतिकता, व्यक्तिगत आचरण विपरीत हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूले आ–आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेसागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्नुहुन यो निर्देशन जारी गरिएको छ ।’
सचिव बुर्लाकोटीले आगामी दिनहरूमा कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले यस्ता प्रकारका गतिविधि एवं क्रियाकलाप गरे गराएको पाइएमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३. नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ तथा सेवा सञ्चालन सम्बन्धी प्रचलित कानून बमोजिम कारबाही हुने चेतावनी दिएका छन् । सोको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयं हुने उनको भनाइ छ ।
सम्बन्धित समाचार : बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको आग्रह