काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नयाँ गठबन्धनपछि सरकारका कामले लय समातेको बताएका छन् ।
बुधबार भालुवाङमा पत्रकार महासंघ लुम्बिनी प्रदेशको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भन,‘लामो समय प्रदेशमा विषयगत समितिले नेतृत्व पाएको थिएन, सरकारले पूर्णता पाएको थिएन, अहिले नयाँ गठबन्धन बनेको एक महिना नहुँदै यी कामले पूर्णता पाएर सरकारले नयाँ काम थालेको छ ।’
मुलुक परिवर्तन ल्याउन पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले अब संघीयता कार्यान्वयन गर्न खबरदारीको रूपमा लाग्नुपर्ने बताए ।
महराले विकास र समृद्धि सम्भव भएकोले सकारात्मक ढङ्गले प्रदेश सरकारलाई खबरदारी गरिदिन आग्रह गरे । महराले सरकार कमी कमजोरीलाई जस्ताको तस्तै बाहिर ल्याइदिन अनुरोध गरे ।
भएका त्रुटि, कमजोरीलाई राइट टाइममा उठाइदिन उनले पत्रकारलाई आग्रह गरे । उनले लुम्बिनी प्रदेश सरकार संसदमा विषयगत समितिको नेतृत्व चयन गरेको, संसदमा विधेयक अगाडि बढाएर छलफल गर्ने गरी सरकार नयाँ ढङ्गले अगाडि बढ्ने बताए ।
उनले सरकार यथास्थितिमा रमाउने नभई गतिशील र अग्रगमनको रूपमा सबै अगाडि बढ्नुपर्ने बताए ।