काठमाडौँ । आयुर्वेदिक औषधिलाई वैज्ञानिक प्रणालीमा आबद्ध गराई विकास गर्न एक हजार सात सय ७७ वटा औषधिजन्य वनस्पतिको ‘डाटाबेस’ तयार भएको छ ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले युवा प्रोत्साहन कोषमार्फत फाइटोमेड नेपाल नामक परियोजनाअन्तर्गत यस्तो डाटाबेस तयार गरेको हो । युवा वैज्ञानिक भुवन गुरुङको नेतृत्वमा फाइटोमेड नेपाल नामक परियोजनाअन्तर्गत यो काम सम्पन्न भएको हो ।
एक हजार सात सय ७७ वटा औषधीय वनस्पतिहरूको परम्परागत औषधीय उपयोगिता र जैविक रसायनको चरित्र, दुई र तीन आयामको संरचनासहित ११ हजार दुई सय चालीस वटा सक्रिय जैविक रसायनहरू डेटाबेसमा समावेश छन् । फाइटोमेड नेपालले यसअघि तयार गरेको डाटाबेसमा दुई सय वटा जडीबुटीहरूको जैविक रसायन समावेश गरेकोमा अब ११ हजार दुई सय ४० वटा सक्रिय जैविक रसायनहरू समावेश छन् ।
सामाजिक विकास मन्त्रालयले बागमती प्रदेशका सचिव भीष्मकुमार भुसालका अनुसार आयुर्वेदीय औषधि प्रणालीलाई वैज्ञानिक र तथ्यपरक ढङ्गले वैज्ञानिक प्रणालीमा आबद्ध गराई भविष्यमा जडीबुटी वा नेपाली वनस्पतिमा आधारित आयुर्वेदीय औषधि प्रणालीको नवप्रवर्तन र विकास गर्ने सोचले यो काम गरिएको हो । नेपालमा जडीबुटीको नामकरण र परम्परागत उपयोगिताको अभिलेखीकरण भए पनि हलासम्म यसको औषधीय गुणको ‘डाटाबेस’ बन्न सकेको थिएन । आयुर्वेद र वनस्पतिय औषधि विज्ञानले नेपालमा कोसेढुङ्गाको काम गर्ने सुझाव आएपछि फाइटोमेड नेपालले ११ हजार दुई सय ४० वटा सक्रिय जैविक रसायनहरू डेटाबेसमा समावेश गरेको जनाएको छ ।
प्रदेश सामाजिक मन्त्रालयको युवा वैज्ञानिक प्रोत्साहन कोष र फाइटोमेड नेपाल बिच बागमती प्रदेशभित्र रहेका महत्त्वपूर्ण दुई सय वटा जडीबुटीहरूको जैविक रसायन डेटाबेसमा तयार गरी कार्य गर्ने गरी २०७७ मा सम्झौता भएको थियो । आयुर्वेद र वनस्पतिय औषधि विज्ञानले भविष्यमा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने फाइटोमेडका प्रमुख अन्वेषक भुवन गुरुङले बताए ।
आफूहरूले तयार गरेको डाटाबेस अन्य क्षेत्रले पनि प्रयोग गरे फाइदा लिन सक्ने उनको भनाइ छ । ‘हामीले बेस लाइन बनाएका छौँ । हर्बल इन्डस्ट्रि/नेचुरल प्रोडक्ट डिस्कभरी, न्युट्रासिटिकल्सतर्फ जाने योजना छ,’ उनले भने, ‘जनस्वास्थ्यका क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने विषयमा काम गर्ने हो ।’
भौगोलिक र सूक्ष्म जलवायु विविधताका कारण नेपालमा एक सय १८ प्रकारका पारिस्थितिकीय प्रणाली रहेको छ । नेपालमा ११ हजार नौ सय ७१ प्रजातिका वनस्पतिहरू पाइन्छन् । यसमध्ये करिब सात सय प्रकारका औषधिजन्य जडीबुटी रहेको नेपाल वनस्पति विभागको तथ्याङ्कले देखाउँदछ ।
नेपालमा पाइने जडीबुटीहरूमा विशिष्ट प्रकारका औषधिजन्य वानस्पतिक रसायनहरू बायोएक्टिभ कम्पाउण्डस्/फाइटोकेमिकलस्/सेकेन्डरी मेटाबोलाइट्स रहेको हुँदा नेपालको जडीबुटी विश्वमै उत्कृष्ट मानिन्छ । विषम पारिस्थितिक प्रणाली एवं हावापानीमा बाँच्न गर्ने सङ्घर्षका कारण वनस्पतिहरूले आफूमा एक मजबुत आनुवंशिक प्रतिरक्षा प्रणालीको विकास गर्दछन् । जसबाट विशेष औषधीय गुणयुक्त रसायनहरू उत्पादन हुन्छन् । यसलाई सक्रिय जैविक रसायन बायोएक्टिभ कम्पाउण्डस् भनिन्छ । यस्ता विशेष सक्रिय जैविक रसायनहरूलाई सम्भाव्य औषधि बाहकको रूपमा अनुसन्धान र परीक्षण गरी मानव उपयोगी औषधिको रूपमा विकास गरिने गरिन्छ ।
औषधिजन्य जैविक रसायन निर्यातको सम्भावना
आयुर्वेदीय औषधि प्रणालीलाई वैज्ञानिक र तथ्य परक ढङ्गले वैज्ञानिक प्रणालीमा आबद्ध गराई भविष्यमा जडीबुटी वा नेपाली वनस्पतिमा आधारित आयुर्वेदीय औषधि प्रणालीको नवप्रवर्तन र विकास गर्ने सोचले डाटाबेस तयार गरेको फाइटोमेड नेपालका प्रमुख अन्वेषक भुवन गुरुङले जानकारी दिए ।
उनका अनुसार यसले कम्प्युटर सिमुलेशन प्रयोग गरी महत्त्वपूर्ण औषधीय सम्भावना बोकेका नवीन जैविक रसायनहरूको पहिचान गरी नयाँ औषधी विकास गर्ने कार्यमा सहयोग पुग्ने छ । विभिन्न संस्था तथा व्यक्तिबाट हुने जडीबुटी र औषधीजन्य वनस्पति सम्बन्धी एउटै प्रकारका अनुसन्धान कार्यमा लगानी पटक पटक दोहरिने कार्य निरुत्साहित भई राज्यकोषको रकम सही र नवीन खोज कार्यमा लगाउन सकिने छ ।
बहु उपयोगी व्यावसायिक औषधि जन्य वनस्पति र जडीबुटी खेतीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न सरकारलाई सहज हुने छ । देशबाट कच्चा जडीबुटीको सट्टा प्रशोधित औषधिजन्य जैविक रसायन निर्यात गर्न सकिने छ ।
यसैगरी औषधि र प्राकृतिक पोषणयुक्त खाद्य पदार्थ विकास गर्न सकिने छ । युवा वैज्ञानिक प्रोत्साहन कोषको अनुदानमा सञ्चालन भएको फाइटोमेड नेपालमा भुवन गुरुङ, दिलीप श्रेष्ठ, विष्णु कार्की, महेश अर्याल र विशाल गुरुङ आबद्ध छन् ।
मन्त्रालयको ‘युवा वैज्ञानिक प्रोत्साहन कोष’को खुल्ला प्रतिस्पर्धाबाट छनौट भएका ब्लुबर्ड इन्टरनेश्नल क्लिनिकका डा. पराक्रम पराजुलीको टिमले नयाँ दन्त उपकरणसमेत तयार गरेको छ ।
सम्बन्धित समाचार : नयाँ दन्त उपकरणको आविष्कार, समय र पैसाको बचत