काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले गरेको संसद् अवरोधको प्रतिरोध गर्ने बताएका छन् ।
बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले काँग्रेस कराइरहने र आफूहरू सुनिरहने स्थिति नरहने बताए ।
‘नेपाली काँग्रेसले बकवास बोलिरहने हामी सुनिरहने होइन’ उनले भने, ‘यस्तो हुन्छ ? ‘अब बकवास सुनिरहन हामी तयार छैनौँ । चाहिने कुरा गरे हुन्छ नि । यतै टोक्या छ, उतै टोक्या छ, यो के तरिका हो ?’
काँग्रेसले संसद् र सांसदहरूको बहुमूल्य समय नष्ट पारिरहेको भन्दै ओलीले भने, ‘यो देशको बहुमूल्य समय खेर फाल्न हुँदैन, संसद् सुचारु हुनुपर्छ ।’
ओलीले अब संसदमा काँग्रेसलाई बोल्न नदिने बताए । उनले संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्ने र उनले बोल्न नपाए एमालेले बोल्ने दाबी गरे ।
अध्यक्ष ओलीले भोलिदेखि एमाले सांसदहरू बहस गर्न तयार भएर संसदमा जाने बताए । ‘हामी बहस गर्न तयार भएर जान्छौँ, संसदमा भोलिदेखि हामीले बहस गर्न पाउनुपर्छ, अरू कुरा छैन’, उनले भने ।