काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ ।
संसदीय कार्यसमितिको बैठक आज बिहान ८ः३० बजे र संसदीय दलको बैठक ९ बजे संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो ।
नेपाली काँग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर त्यो मागलाई सत्ता साझेदार दलहरूले मानेका छैनन् । सत्ता पक्ष र प्रतिपक्षको अडान यथावत भएपछि संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।
बिहीबार बैठक प्रारम्भ हुनासाथ काँग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए ।
बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा एमाले पनि रोष्टममा उत्रिएको थियो । त्यसक्रममा काँग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो ।