सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन( कुनै पनि विधेयक पारित नगरी आज राति १२ बजेदेखि अन्त्य गरिएको छ ।
गत माघ ५ गते प्रारम्भ भएको यो अधिवेशनको अवधिमा प्रदेश सभा सचिवालयमा दर्ता भएका चार वटा विधेयकमध्ये कुनै पनि विधेयक पारित हुन नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सचिवालयका सूचना अधिकारी युवराज जैशीले सरकार गठन र विघटन लिनेबाहेक अन्य काम नभएको बताए । “यो अधिवेशनमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने, विश्वासको मत फिर्ता लिनेजस्ता कामबाहेक विधेयक पारित गर्नेमा कुनै पनि काम हुन सकेन”, उनले भने ।
यसअघि बिहीबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका केही सांसदको वेल घेराउ र नाराबाजीका बावजूत मुख्यमन्त्री दीर्घबहादुर सोडारीको विश्वासको मत लिनेसम्बन्धी कारबाही अघि बढाइएको थियो । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएका थिए।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा जबरजस्ती कारबाही अघि बढाइएको भन्दै सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए । उनले भने, “छलफल र संवादबाट समस्या समाधान खोज्ने सम्भावना रहे पनि अचानक संसद् अधिवेशन अन्त्य गरिएको घटनामा हाम्रो विरोध छ ।”
यसैबीच प्रतिपक्षी दल नेपाली काँग्रेसले संवाद र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न चाहे पनि सरकारले अचानक चालु अधिवेशन अन्त्य गरेकाले यस कार्यले सार्वभौमसत्ता सम्पन्न संसद्को मर्यादा कुण्ठित भएको जनाएको छ । काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गरी अधिवेशन अन्त्य गर्ने निर्णयको विरोध गरे ।
प्रदेश सभाको बैठक सञ्चालनमा दलहरूबीच सहमति जुट्न नसक्दा यसअघि आज अपराह्न बोलाइएको बैठक स्थगित गरिएको थियो । लगत्तै प्रदेश प्रमुखको कार्यालयबाट चालु अधिवेशन पनि अन्त्य गरिएको हो ।