काभ्रेपलाञ्चोक । मानव बेचबिखनलाई रोकथाम गर्न माइती नेपालले बीपी राजमार्गअन्तर्गत पूर्वी पहाडी क्षेत्रबाट राजधानी प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काभ्रेभञ्ज्याङमा निगरानी बढाएको छ । उक्त स्थानमा संस्थाले सन् २०२३ को सुरुआतदेखि हालसम्म सवारीसाधनमा गरेको निगरानीका क्रममा सात सय ११ जना शंकास्पद किशोरी तथा महिलालाई सोधपुछ गरी परिवारको जिम्मा लगाएर फर्काएको जनाएको छ ।
उक्त राजमार्ग भएर परिवारको जानकारीबिना तथा विभिन्न बहानामा घरबाट सवारीसाधनमार्फत संघीय राजधानीतर्फ लागेका ‘निगरानी’का क्रममा उक्त सङ्ख्यामा युवतीलाई परिवारको सम्पर्कमा फिर्ता गराइएको आज बनेपामा आयोजना गरिएको मानव बेचबिखनविरुद्ध होटेल तथा यातायात व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा जानकारी दिइयो । यसमध्ये सन् २०२३ मा पाँच सय २२ र सन् २०२४ को बितेको चार महिनामा एक सय ८९ रहेका छन् । घर फिर्ता गरिएका युवती १२ वर्षदेखि २४ वर्ष उमेर समूहका रहेको कार्यक्रमको जिल्ला संयोजक गायत्री गौतमले जानकारी दिइन् । उनका अनुसार फिर्ता गरिएकाहरू परिवारलाई जानकारी नगराई विभिन्न बहानामा घर छाडेर हिँडेका हुन् ।
यसअघि घर छाडेर हिँडेकामध्ये अधिकांश महिला मानव बेचबिखनमा परेको घटनाक्रमले देखाएको कार्यक्रममा बताइयो । उक्त संस्थाले आफ्नो कार्यक्रम सञ्चालनयता काभ्रेभञ्ज्याङ नाकामा सवारीसाधनमा निगरानी गर्नुका साथै चेतनामूलक हाते पुस्तिका वितरण गर्दै आएको छ । यस्तै संस्थाले विभिन्न सरोकारवाला निकायसँग मानव बेचबिखन न्यूनीकरणका लागि जिल्लामा अन्तरक्रिया तथा विद्यार्थीस्तरमा सचेतनामूलक निबन्ध प्रतियोगिता कार्यक्रमसमेत गर्दै आएको छ ।
यसैगरी काभ्रेपलाञ्चोकको विभिन्न राजमार्गका नाकाबाट हुनसक्ने बेचबिखनको कार्य नियन्त्रणका लागि थप निगरानी बढाउने योजना रहेको गौतमले बताइन्। उनका अनुसार हाल संस्थाले आफ्ना कर्मचारीमार्फत दैनिक बिहान ७ देखि बेलुका ६ बजेसम्म यातायातको अनुगमन गर्ने, अनुगमनका क्रममा शंका लागेका महिला तथा किशोरी बालबालिकालाई परामर्श दिने र यात्राको कारण सोधी परिवारलाई फोनमार्फत जानकारी गराई पठाउने र परिवारको सल्लाहबमोजिम रोकी कार्यालयमा ल्याई प्रहरीको सहयोगमा परिवारमा बुझाउने गर्दै आइएको छ ।
बुधबारको कार्यक्रममा जिल्लास्थित मानवअधिकार सञ्जालका संयोजक भोजराज तिमल्सिनाले मानव बेचबिखन अवस्थाको जानकारी दिँदै पछिल्लो समय काभ्रेपलाञ्चोकको होटलमा बालिकालाई जबरजस्ती करणी गराउने ‘यौन धन्दा’मा लागेको आरोप लगाए । उनले चालु आर्थिक वर्षमा तीनवटा मानवबेचबिखनका घटना दर्ता भइसकेको तथा यसअघि जिल्लाबाट एक सय ८९ मिर्गौला बेचबिखन, आठ देहव्यापार तथा ३७ वटा मानव बेचबिखनमा घटना भएको जानकारी दिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले मानव बेचबिखनसम्बन्धी अपराध रोकथामका लागि नेपाल प्रहरी सदैव विशेष रूपमा लागेको बताउँदै यसविरुद्ध सचेतनामा लागेको बताए । कार्यक्रममा मानवअधिकारकर्मी, यातायात व्यवसायी तथा होटेल व्यवसायीको सहभागिता रहेको थियो ।