काठमाडौँ । नेपाल व्यवस्थापन संघको आयोजनामा यही जेठ १८ गते ‘सिइओ कन्फरेन्स’ (प्रमुख कार्यकारी अधिकृत) हुने भएको छ । संघले आज पत्रकार सम्मेलन गरी यही जेठ १८ गते शुक्रबार उक्त कन्फरेन्स हुने जानकारी दिएको हो ।
संघका अध्यक्ष मोहनराज ओझाले उक्त सम्मेलनले अन्तर्राष्ट्रिय विज्ञबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रस्तुत हुने जानकारी दिए। उनले भने, “विश्वका मुद्दाहरूका सम्बोधनका लागि यो सम्मेलनले नेपालको व्यवस्थापनका सन्दर्भमा नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलको आदानप्रदान र सहकार्यका लागि मञ्च प्रदान गर्नेछ ।”
सम्मेलनको मुख्य विषयवस्तु ‘कामको भविष्य: परिवर्तित परिदृश्य आत्मसात्’ रहेको छ । सम्मेलनको उद्देश्य सरोकार भएकालाई प्रविधि, उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक अवधारणद्वारा परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात् गर्न सकिन्छ र सोबारेमा अन्वेषण गर्न सहयोग गर्नु रहेको उनले जानकारी दिए ।
सम्मेलनमा चार विषयगत सत्रहरू सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कार्यक्रममा चारजना विदेशी वक्ताको सहभागिता रहनेछ भने विभिन्न संघ संस्थाबाट दुई सयभन्दा बढी सिइओहरु उपस्थित हुने आयोजकले जनाएको छ ।