काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवहेलनामा कारवाहीको माग गर्दै नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले सभामुखलाई निवेदन दिएका छन् ।
गृहमन्त्री लामिछानेले संसदमा अर्थहीन र आधारहीन कुरा गरी काँग्रेस सांसदहरूको मानमर्दन गर्न खोजेको र उनको अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको भन्दै संसदको अवहेलनामा कारबाही गर्नुपर्ने गुरुङको माग छ ।
‘प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकाले सोतर्फ समेत विचार गरी निजलाई संसदको अवहेलनामा कारबाही गर्न गम्भीर रूपले माग गर्दछु’, गुरुङले सभामुखलाई लेखेको निवेदनमा उल्लेख छ ।
गुरुङले निवेदनसँगै रातो कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २४ असोज २०६४ मा गरेको फैसलाको प्रतिलिपि पनि संलग्न गरेका छन् ।
