काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले राज्यका सूचना बेच्नु देशद्रोह भएको टिप्पणी गरेका छन् ।
हिजो प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै देशको सूचना बेचेको आरोप लगाएपछि नेता रावलले सत्यतथ्य छानबिनको माग गरेका हुन् ।
उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘राज्यका सूचना बेच्नु देशद्रोह हो । यसरी सूचना नेपाली काँग्रेसका महामन्त्री सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन् । यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसद्मा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारबाही गरियोस् । यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउँदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रम प्रचण्डले तुरुन्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ ।’