काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को बडापत्र आजदेखि कार्यान्वयनमा गएको छ । सातवटा सदस्य राष्ट्रमध्ये नेपालले आन्तरिक प्रक्रिया अन्तर्गत २० चैत्र (२ अप्रिल) मा प्रतिनिधि सभाबाट अनुमोदन गरेसँगै स्थापना भएको तीन दशकपछि बिमस्टेक बडापत्र कार्यान्वयनमा गएको हो ।
बिमस्टेक महासचिव इन्द्रमणि पाण्डेले बडापत्र कार्यान्वयनका लागि आवश्यक सबै सर्तहरू पूरा भएकाले आजदेखि यसको कार्यान्वयन भएको जानकारी गराएका छन् । ‘गत २१ अप्रिलमा बडापत्र कार्यान्वयनका सर्तहरू पूरा भएको थियो ।
बडापत्रको धारा २५ (४) बमोजिम त्यसको तिसौँ दिनबाट कार्यान्वयन हुने व्यवस्था छ । सोही अनुसार २० मेबाट बाट यो स्वतः कार्यान्वयनमा गएको छ’, बिमस्टेक महासचिव पाण्डेले जारी गरेको सूचनामा भनिएको छ, ‘यसले बाह्य साझेदार, पर्यवेक्षक र नयाँ सदस्यहरूका लागि पनि मार्ग प्रशस्त गरेको छ ।’