काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सत्ता र शक्तिको पहुँचको आधारमा बदलाको भावनाले नागरिकविरुद्ध राज्यशक्ति दुरुपयोग गर्नु अनुचित भएको जनाएको छ।
सहकारी ठगी प्रकरण र कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाको पक्राउलाई लिएर ट्रान्सपरेन्सी इन्टरनेशनलकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले विज्ञप्तिमार्फत भनेकी छन्, ‘सत्ता र शक्तिमा पहुँचका आधारमा कसैलाई अपराधबाट उन्मुक्ति दिने तानाबाना बुन्नु जति अनुचित हो, स्वार्थको द्वन्द्व, रिसइवी वा बदलाको भावनाले कुनै पनि नागरिक विरुद्ध राज्यशक्तिको दुरुपयोग गर्नु पनि उत्तिकै अनुचित हो।’
भ्रष्टाचार, जालसाजी, सार्वजनिक सम्पत्ति र रकमको अपचलन लगायत गम्भीर आपराधिक मामिलाहरू राजनीतिक स्वार्थ र लेनदेनका आधारमा दबाउने, कारवाही नै प्रारम्भ नगर्ने, छानबिन नै हुन नदिने, मुद्दा नै नचलाउने, शक्तिको केन्द्रमा रहेका जिम्मेदार व्यक्तिहरूलाई छानबिनको घेराबाटै बाहिर राख्ने, चलिरहेको छानबिन नै रोक्ने, साथै अदालतले दोषी ठहर गरेकाहरूलाई समेत सजायबाट उन्मुक्ति दिने जस्ता घटना र प्रवृत्ति निरन्तर बढ्दै गएको देखिएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले चिन्ता व्यक्त गरेको छ ।
‘देशमा कसैले कुनै पनि बहानामा कानूनी प्रक्रियाबाट उन्मुक्ति पाउनु हुँदैन र सबै नागरिकले संविधान तथा कानूनले प्रत्याभूत गरेको संरक्षण पनि पाउनुपर्छ । अन्यथा दण्डहीनताले प्रश्रय पाउनुका साथै कानूनी राजको उपहास हुने र सुशासन जरैदेखि कमजोर भएर मुलुक गम्भीर असहजतातर्फ उन्मुख हुने कटुसत्यतर्फ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जिम्मेदार पक्षको ध्यान आकर्षित गर्न चाहन्छ, ’ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भनेको छ ।
