७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोजगारीको सिर्जना: बेरोजगारीको समाधान

अ+ अ-

परिचय
बेरोजगार भन्नाले काम नभएको वा बेकामे वा इलम धन्दा केही नभएको व्यक्तिलाई सम्झनु पर्दछ भने बेरोजगारी भन्नाले बेकारी वा रोजगारी नहुने स्थितिलाई बुझाउँछ । संयुक्त राष्ट्र सङ्घका अनुसार काम नभएका व्यक्तिहरू, काम खोज्दै गरेका व्यक्तिहरू, हाल कामको लागि उपलब्ध रहेका व्यक्तिहरू, आफ्नो रोजगारी गुमाएका वा स्वेच्छाले काम छोडेका व्यक्तिहरू नै बेरोजगार हुन । आर्थिक सहयोग तथा विकास सङ्गठनका अनुसार बेरोजगार भन्नाले निर्दिष्ट उमेर वा तोकिएको उमेरभित्रका व्यक्तिहरू जो कुनै पनि रोजगार वा स्व-रोजगारमा संलग्न नभएको तर कामको लागि उपलब्ध रहेको अवस्था हो । रोजगारीको हक सम्बन्धी ऐन, २०७५ अनुसार बेरोजगार व्यक्ति भन्नाले एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएको वा कम्तीमा तोकिए बमोजिमको आय आर्जन हुने स्वरोजगारमा संलग्न नरहेको अठार वर्ष देखि उनन्साठी वर्ष उमेर समूहको नागरिक सम्झनुपर्छ ।

केन्सका अनुसार बेरोजगारी
जान मेनार्ड केन्सको रोजगारी सिद्धान्त एउटा आर्थिक सिद्धान्त हो, जसको मुख्य उद्देश्य रोजगारीको सिर्जना गर्नु वा बढोत्तरी गर्नु हो । यस सिद्धान्त अनुसार वृद्धि र लगानीको माध्यमबाट सञ्चालित आर्थिक नीतिको प्रभावले पनि बेरोजगारी हुने गर्छ । केन्सले बेरोजगारीको माग पक्षको विश्लेषण गरेका छन् । उनको विचारमा अर्थतन्त्रमा प्रभावकारी माग घट्न गयो भने बेरोजगारी बढ्छ । अर्थतन्त्रमा कुल माग बढाउन साथ बेरोजगारीको समस्या समाधान हुन्छ । कुल मागमा उपभोग, लगानी, सरकारी खर्च र निर्यात समावेश हुन्छ । केन्सका अनुसार अर्थतन्त्रमा कुल मागले मुख्य रूपमा रोजगारीको स्तर निर्धारण गर्दछ । (स्रोत: रोजगारी, ब्याज र पैसाको सामान्य सिद्धान्त)

ओकुनका अनुसार बेरोजगारी
ओकुनले सन् १९६० मा बेरोजगारी र देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बीचको सम्बन्ध विश्लेषण गरेका थिए । उनले मुद्रास्फीति नियन्त्रण गर्न र रोजगारीलाई प्रोत्साहित गर्न वित्तीय नीतिको प्रयोग गर्न वकालत गरेको थियो । ओकुनका अनुसार अर्थतन्त्रमा सम्भावित कुल गार्हस्थ्य उत्पादनबाट प्रत्येक तीन प्रतिशतले कुल गार्हस्थ्य उत्पादन घटाउँदा बेरोजगारीमा एक प्रतिशत वृद्धि हुने गर्दछ । त्यसैगरी कुल गार्हस्थ्य उत्पादनमा तीन प्रतिशतको वृद्धिले बेरोजगारीमा एक प्रतिशतले कमी आउँछ । बेरोजगारी घट्दा देशको उत्पादन बढ्ने ओकुनको निष्कर्ष रहेको छ ।

वर्तमान अवस्था
वर्ल्ड इमप्लोएमेन्ट एण्ड सोसल आउट लुक, २०२३ अनुसार विश्वव्यापी रूपमा बेरोजगारी दर ५.१ प्रतिशत रहेको छ । विश्व बैंक (२०२२) का अनुसार सबैभन्दा बढी बेरोजगारी दर दक्षिण अफ्रिकामा २८.८ प्रतिशत र सबैभन्दा कम कतारमा ०.१ प्रतिशत रहेको छ । नेपाल श्रम शक्ति सर्वेक्षण, २०७४ अनुसार नेपालको बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ । वर्ल्ड इकोनोमिक फोरमका अनुसार आगामी वर्षहरूमा कृत्रिम बौद्धिकताले ८५ मिलियन रोजगारीको अन्त्य गर्नेछ भने ९७ मिलियन नयाँ रोजगारी सृजना हुनेछ । अन्तराष्ट्रिय मुद्रा कोषका अनुसार कृत्रिम बौद्धिकताले विकसित अर्थतन्त्रमा लगभग ६० प्रतिशत, उदीयमान अर्थतन्त्रमा ४० प्रतिशत र न्यून आय भएका देशहरूमा २६ प्रतिशत कामदारहरूलाई प्रभावित गर्न सक्छ । म्याकिन्सेको प्रक्षेपण अनुसार कार्य गतिविधिहरू जुन आज कुनै कामदारको समयको ६०-७० प्रतिशत खर्च गर्छ अब चाँडै स्वचालित हुन सक्छ । गोल्ड म्यान सक्सले कृत्रिम बौद्धिकताले ३०० मिलियन पूर्णकालीन रोजगारीहरूलाई स्वचालनमा परिणत गर्न सक्छ भन्ने अनुमान गरेको छ ।

बेरोजगारीका कारणहरू
संवैधानिक रूपमा रोजगारी सम्बन्धी अधिकार तीनवटै तहका सरकारलाई प्राप्त भए पनि यसको व्यवहारिक रूपमा कार्यान्वयन नहुन सक्नु पनि बेरोजगारीको एउटा मुख्य कारण रूपमा रहेको देखिन्छ । बेरोजगारीका धेरै कारणहरू छन् । नेपालको वर्तमान अवस्था र परिवेश अनुसार बेरोजगारीका मुख्य कारणहरू यस प्रकार रहेका देखिन्छन् ।

आर्थिक गतिविधिहरूको कमी: आर्थिक सङ्कट वा मन्दीको प्रभावले विभिन्न आर्थिक गतिविधिहरूमा सङ्कुचन आउने गर्दछ । आर्थिक गतिविधिहरूमा सङ्कुचन आउनाले उत्पादन, रोजगारीका अवसरहरू र निर्यातमा समेत कमी आउँछ । जसको परिणामस्वरुप रोजगारीका अवसरमा कमी आउँछ र बेरोजगारी बढने गर्दछ ।   

काम गर्ने संस्कृतिको अभाव: काम सानो वा ठूलो हुदैन् । नेपालमा कामलाई जातजाति, धर्म, संस्कृतिको आधारमा बाँडफाँड गरिएको हुनाले कामलाई सामाजिक प्रतिष्ठासँग जोडिएर हेरिन्छ । श्रम र श्रमिकप्रतिको सम्मानको अभाव रहेका कारण देशमा उपलब्ध कतिपय क्षेत्रहरूमा रोजगारीका अवसरहरू हुदाँहुदै पनि बेरोजगार व्यक्तिहरू काम गर्न रुचाउँदैन । रोजगारीका लागि बिदेसिन खोज्छन् । अतः नेपालमा काम गर्ने संस्कृतिको अभावका कारण पनि बेरोजगारीको समस्या दिनानुदिन बढी रहेको अवस्था छ ।

सीपको कमी वा बेमेलः सीपको कमी वा बेमेल पनि बेरोजगारीको मुख्य कारक हो । श्रम बजारमा उपलब्ध रोजगारीका अवसर अनुसारको सीपको कमी हुनु वा बेरोजगार व्यक्तिहरूसँग भएको सीप अनुसारको रोजगारीका अवसर उपलब्ध नहुनु वा रोजगारदातालाई आवश्यक सीप र बेरोजगार व्यक्तिहरूसँग भएको सीपहरूको बीचमा मेल नहुनुले पनि बेरोजगारीको समस्या बढेको देखिन्छ ।

समयानुकूल शिक्षा प्रणालीको अभाव: श्रम बजारमा सहज रूपमा बिक्न र टिक्न सक्ने दक्ष, सीपयुक्त र व्यावसायिक जनशक्तिको उत्पादनमा हालको शिक्षा प्रणालीले खासै सघाएको देखिदैन् । जसको परिणामस्वरुप शैक्षिक बेरोजगारहरूको संख्या पनि बढ्दै गएको देखिन्छ ।

प्रविधिको विकास: विगत केही वर्ष देखि सूचना प्रविधिको क्षेत्रमा भएको द्रुत विकासले धेरै जसो रोजगारीका अवसरहरूमा मेशिन, रोबोट र कृत्रिम बौद्धिकताको प्रयोग बढेको देखिन्छ । अदक्ष कामदारले गर्ने कामहरू प्रविधिको माध्यमद्वारा गर्न थालिएको छ, जसको परिणामस्वरुप रोजगारी गुमाउनेहरूको संख्यामा वृद्धि भई बेरोजगारी बढ्दै गएको छ ।    

प्राविधिक शिक्षामा सहज पहुँच नहुनु: श्रम बजारमा निम्न र मध्यम स्तरको रोजगारी सजिलै प्राप्त गर्न सहयोग गर्ने प्राविधिक शिक्षामा सर्वसाधारणको सहज पहुँच कायम हुन सकेको छैन । प्राविधिक शिक्षालय वा तालिम केन्द्रहरू अझै पनि शहर केन्द्रित हुनु र महँगो शुल्कका कारण विपन्न एवम् गरिब वर्गका व्यक्तिहरू प्राविधिक शिक्षा प्राप्त गर्न असमर्थ रहेको देखिन्छ । प्राविधिक शिक्षामा सहज पहुँच नहुनुले पनि बेरोजगारी समस्या बढेको देखिन्छ ।     

सामाजिक असमानता: समाजमा विद्यमान विभिन्न सामाजिक, धार्मिक र राजनीतिक भेदभाव, कुरीति तथा अन्धविश्वासहरूले पनि बेरोजगारीलाई प्रोत्साहन गरेको देखिन्छ । जस्तै: ज्यालामा विभेद, महिला र पुरुषको कार्यक्षमता समान नहुनु, महिला श्रम शक्तिलाई काममा नलगाउनु आदि । त्यसैले सामाजिक असमानता पनि बेरोजगारीको मुख्य कारक हो ।

गरिबी: गरिब व्यक्ति अक्सर बेरोजगार नै हुने गर्दछ । गरिब तथा विपन्न वर्गका व्यक्तिहरू सामाजिक तथा आर्थिक अवसरहरूबाट वञ्चित हुने गर्दछ वा बहिष्करणमा परेका हुन्छन् । गरिब व्यक्तिहरूको आर्थिक उन्नतिको मुख्य आधार नै श्रम रहेको छ । श्रमको उपयोग नभएको अवस्थामा आम्दानी वा आयआर्जन गर्न नसकेर बेरोजगार बस्नु पर्ने अवस्था रहन्छ ।

बेरोजगारीको प्रभाव
बेरोजगारीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सामाजिक, आर्थिक, राजनैतिक र मानसिक रूपमा प्रभाव पार्ने गर्दछ । जस मध्ये मुख्य प्रभावहरूमा गरिबी, अशिक्षा, न्यून आर्थिक वृद्धि, द्वन्द्व, हत्या हिंसा, लुटपाट लगायत अन्य अपराधका घटनाहरूमा वृद्धि, कुपोषण वा रोग व्याधि तथा भोकमरीमा वृद्धि, मानव बेचबिखन तथा तस्करीमा वृद्धि, लागु पदार्थ दुर्व्यसनी तथा ओसारपसारमा वृद्धि, कुशासन तथा भ्रष्टाचारमा वृद्धि आदि रहेका छन् ।

बेरोजगारी समस्या समाधानका उपायहरू
बेरोजगारी समस्या समाधानका मुख्य उपायहरू यस प्रकार रहेका छन् ।

रोजगारी सिर्जना एवम् प्रवर्द्धन: बेरोजगारीको समस्यालाई समाधान गर्ने मुख्य उपाय भनेकै रोजगारीका अवसरहरूको सिर्जना एवम् रोजगार प्रवर्द्धन गर्नु हो । रोजगारी सिर्जना भनेको कुनै पनि अर्थतन्त्रमा रोजगारीका नयाँ नयाँ अवसरहरूको सुरुवात गर्नु हो भने रोजगार प्रवर्द्धन भनेको रोजगारी सिर्जनालाई बढाउने वा प्रोत्साहन गर्ने कार्य हो । रोजगारी सिर्जना जुनसुकै ठाउँ र क्षेत्रमा गर्न सकिन्छ । रोजगारी सिर्जनामा निजी क्षेत्रको अहम् भूमिका हुन्छ । जति धेरै रोजगारी सिर्जना वा प्रवर्द्धन गर्न सकियो, त्यति नै बेरोजगारी घट्दै जान्छ ।

श्रम बजारको विश्लेषण गरी सोही अनुसारको सीप तथा क्षमता विकास गर्नुपर्ने: श्रम बजारमा कुन किसिमको जनशक्तिको अत्यधिक माग वा खाँचो रहेको छ, कस्तो प्रकारको जनशक्ति तयार गर्दा श्रम बजारमा सजिलै रोजगारी प्राप्त गर्न सकिन्छ वा स्वरोजगारका गतिविधिमा छिट्टै संलग्न हुन सकिन्छ । साथै कृत्रिम बौद्धिकताले प्रभाव पार्न सक्ने क्षेत्रका कामदारहरूलाई समेत लक्षित गरी सीप तथा क्षमता विकास गर्नु पर्दछ । श्रम बजारको विश्लेषण गरेर मात्र सीप तथा क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्नु पर्दछ । यसले विद्यमान र भविष्यमा हुने बेरोजगारीका समस्यालाई समाधान गर्न सघाउँछ ।

श्रम बजार व्यवस्थापन सूचना प्रणालीको विकास गर्नुपर्ने: श्रम बजारलाई सहज, पहुँचयोग्य र प्रविधिमैत्री बनाई देशमा सिर्जित रोजगारीको विवरण र रोजगारीमा आबद्धता सम्बन्धी सूचनाको सम्प्रेषण तथा श्रम/रोजगार विनिमय हुन सक्ने गरी रोजगारदाता र श्रमिक बीचको सम्बन्ध स्थापित गरी बेरोजगारहरूलाई रोजगारीमा पदस्थापन गर्नु पर्दछ ।

स्थानीय आर्थिक गतिविधिहरूमा वृद्धि गर्नुपर्ने: स्थानीय आर्थिक गतिविधिहरूमा हुने लगानीले स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रमा रोजगारीका थप अवसरहरू सिर्जना गर्न सकिन्छ । जसले स्थानीय अर्थतन्त्रलाई सबल, सुदृढ र विकसित हुन मदत गर्छ । परिणामस्वरुप समुदायको सामाजिक तथा आर्थिक विकासमा सहयोग पुग्दछ ।

उद्यमशीलताको विकास एवम् प्रवर्द्धन गर्नुपर्ने: यसले व्यक्तिहरूलाई स्वावलम्बी, सक्षम र आत्मनिर्भर बनाउँछ । व्यक्तिहरूमा नयाँ नयाँ विचार र व्यावसायिक अवसरहरू प्रदान गर्दछ । रोजगारीका सम्भावना र अवसरहरू बढाउँछ । यसले अर्थतन्त्रलाई मजबुत बनाई समुदायलाई समृद्धि र प्रगतिको दिशामा अग्रसर हुन योगदान गर्दछ ।

स्वरोजगार प्रवर्द्धन गर्न सहयोग प्रदान गर्नुपर्ने: स्वरोजगारलाई प्रवर्द्धन गर्न विभिन्न सहयोगहरू जस्तै: ऋण वा अनुदान, सीप वा तालिम, पूर्वाधारहरूको विकास, प्रविधि र बजारमा पहुँच, समकालीन नीति, योजना तथा कार्यक्रम आदिको अहम् भूमिका हुने गर्छ । जसको माध्यमद्वारा बेरोजगार व्यक्तिहरूलाई स्वरोजगारका गतिविधिहरूमा संलग्न हुने वातावरण निर्माण गरी स्थानीय उत्पादनहरूमा समेत वृद्धि गर्न सकिन्छ ।

श्रमको सम्मान: श्रम र श्रमिकलाई हेर्ने सामाजिक दृष्टिकोण एवम् श्रमप्रति सम्मानको अभावका कारण उपलब्ध रोजगारीका कतिपय अवसरहरूमा काम गर्न मन नपराउने अवस्था विद्यमान छ । त्यसैले श्रम र श्रमिकको सम्मानमा अभिवृद्धि हुने खालको भाषा, व्यवहार, संस्कार र काम गर्ने संस्कृतिको विकास गर्नु अपरिहार्य रहेको छ ।

बेरोजगार सेवा सहायता: श्रम बजारमा प्रवेश गर्ने सबै बेरोजगार व्यक्तिहरूको समस्या एकै प्रकृतिको हुँदैनन् । कसैलाई सीपको आवश्यकता हुन्छ भने कसैलाई परामर्शको त कसैलाई सूचना वा जानकारीको खाँचो हुन्छ । त्यसैले श्रम बजारमा प्रवेश गर्ने बेरोजगार व्यक्तिहरूलाई आवश्यकता अनुसारको बेरोजगार सेवा सहायता प्रदान गरी श्रम बजारमा सहज प्रवेश गर्न सहयोग गर्नु पर्दछ । यसले रोजगारी न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दछ ।

निष्कर्ष
बेरोजगारी एक जटिल समस्या हो, जसले व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रलाई नै प्रभावित गर्ने काम गर्छ । बेरोजगारीले सामाजिक विकृति लगायत अन्य समस्याहरू सिर्जना गर्दछ । यसले देशको सामाजिक तथा आर्थिक विकासमा गतिरोधको स्थिति उत्पन्न गर्छ । यसले असहमति, आर्थिक असुरक्षा र आत्मविश्वासमा कमी ल्याउँछ । यसले प्रतिभा पलायन हुने स्थिति पनि सिर्जना गर्दछ । बेरोजगारीको अन्त्य गर्न मानिसहरूको आय वृद्धि हुने गतिविधि एवम् क्रियाकलापहरू सञ्चालन गर्नुको साथै रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोग पुग्ने नीति तथा योजनाहरू कार्यान्वयन गर्नु पर्दछ ।

मौद्रिक नीति, वित्तीय नीति, आर्थिक गतिविधि र लगानीको माध्यमबाट उत्पादनमा वृद्धि गरी थप रोजगारीका अवसरहरू सिर्जना गरी बेरोजगारीको समस्यालाई कम गर्न सकिन्छ । बेरोजगार व्यक्तिहरूको श्रमलाई सिपसँग, सीपलाई उत्पादनसङ र उत्पादनलाई बजारसँग जोड्न पर्दछ । जसको परिणामस्वरुप सामाजिक र आर्थिक विकासमा समेत सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस