काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरसफाइ र सुरक्षा श्रमिकहरूले प्रतिष्ठानका पदाधिकारीहरूलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रतिष्ठानले कटौती गरेको हेल्थकार्ड सुविधालाई निरन्तरता गरिनुपर्ने, गत साउनदेखि वृद्धि भएको न्यूनतम पारिश्रमिक तत्काल पाउनुपर्ने र बाँकी रहेको पुरानो तलब उपलब्ध गराउनु पर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको हो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सम्बद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन र नेपाल सफाई कर्मचारी युनियनको तर्फबाट प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार सूर्यप्रसाद सङ्ग्रौला, निर्देशक जगतनारायण प्रसाद साह र शिक्षाध्यक्ष डा. सञ्जीव शर्मालाई तीनबुँदे ज्ञापनपत्र बुझाइएको हो ।
जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले ज्ञापनपत्र हस्तान्तरण गर्दै प्रतिष्ठान स्थापनाकालदेखि सेवा गर्दै आइरहेका श्रमिकहरूलाई प्रतिष्ठानले सेवासुविधाहरु कटौती गरेर विभेद गरेको बताए ।
श्रमिकहरूको अधिकारका लागि जिफन्टले पटक पटकको आन्दोलन र सबैको सहयोगमा प्राप्त भएको हेल्थ कार्ड लगायतका उपलब्धिहरू क्रमशः खोसिँदै गइरहेकाले श्रमिकहरूको समस्याको सम्बोधन नभए पुन आन्दोलन गरिने चेतावनी प्रतिष्ठानका पदाधिकारीहरू समक्ष राखेका थिए ।
वर्षौँदेखि श्रमिकहरूले उपयोग गर्दै आइरहेको हेल्थ कार्ड २०८० साउन १ गतेदेखि बन्द गरिँदा श्रमिकहरू र तिनको आश्रित परिवारमा गम्भीर असर परेकाले तत्काल निरन्तरता दिन ज्ञापनपत्रका उल्लेख गरिएको छ । त्यस्तै २०८० साल साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिकमा सरकारले वृद्धि गरेको २ हजार ३ सय तलब अहिलेसम्म श्रमिकहरूलाई नदिएर श्रमिकहरूको श्रमको शोषण गरिरहेकाले तत्काल बढेको रकम उपलब्ध गराउनु पर्ने उल्लेख छ ।
प्रतिष्ठानमा केटिएम सेक्युरिटी कम्पनीले ठेक्का सम्झौतामा काम गरेको समयमा मजदुरहरूले पाउनुपर्ने १ करोड ५६ लाख ३४ हजार ३ सय १३ रुपैयाँ ३६ पैसा तलब लगायतका शीर्षकको पैसा श्रमिकहरूलाई उपलब्ध गराउन श्रम अदालतले फैसला गरेको करिव चार वर्ष हुनै लाग्दा मजदुरहरूले पैसा नपाएकोले केटिएम सेक्युरिटी कम्पनीलाई प्रतिष्ठानले भुक्तान गर्नुपर्ने रकम मध्येबाट कट्टा गरी पैसा उपलब्ध गराइनू पर्ने ज्ञापन पत्रमा उल्लेख गरेको छ ।