काठमाडौँ । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा मङ्गलवार अपराह्न ४ बजे संसदीय छानबिन समिति गठन हुने जानकारी गराएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा मङ्गलवार बिहान बसेको संसदीय दल बैठकमा काँग्रेसले आफ्ना प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूलाई संसदीय छानबिन समिति गठन हुने ब्रिफिङ गरेको हो।
सभापतिसमेत रहेका संसदीय दल नेता शेरबहादुर देउवा संसदीय दल कार्यसमिति र संसदीय दल बैठकमा उपस्थित थिएनन्। राष्ट्रिय सभामा दल नेता रहेका कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा आज बैठक बसेको थियो।
‘संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ। आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा छानबिन समितिको कार्यादेशसहितको सहमति बैठकबाट पारित हुने गरी प्रस्तुत हुन्छ,’ बैठकपछि प्रमुख सचेतक रमेश लेखकले भने, ‘हामी हाम्रो तर्फबाट समितिमा बस्ने सांसदको नाम आज अपराह्न ३ बजेसम्म संसद सचिवालयलाई दिइसक्छौँ।’
सात सदस्यीय छानबिन समिति गठन गर्ने दलहरूबीच सहमति छ। जसमा काँग्रेसका २, एमालेका २, माओवादीका १, रास्वपाका १ र राप्रपाका १ जना सांसद रहने भनिएको छ। समितिको समयावधि तीन महिनाको हुने लगभग सहमतिमा दलहरू छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्ता र प्रतिपक्षी काँग्रेसका नेताहरूबीच सोमबार बेलुकी संसदीय समितिका कार्यादेश लगायतका विषयमा सहमति भएको थियो। यो सहमतिलाई काँग्रेस संसदीय दलले अनुमोदनसमेत गरेको छ।