काठमाडौँ । सरकारले पेश गरेको नयाँ बजेटले विद्युतीय गाडीको कर वृद्धि गरेको छ । किलोवाट अनुसार विद्युतीय गाडीको भन्सार र अन्तःशुल्क केही थपघट भएको हो ।
नयाँ बजेटअनुसार ५० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत अन्तःशुल्क वृद्धि गरिएको छ । यस अघि ५० किलोवाटसम्मको गाडीमा अन्तःशुल्क लाग्दैन थियो । १० प्रतिशत भन्सार लाग्दै आएको थियो । अब भन्सार र अन्तःशुल्क गरेर १५ प्रतिशत कायम भएको छ ।
५१ भन्दामाथि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा ५र५ प्रतिशत प्रतिशत भन्सार र अन्तःशुल्क वृद्धि भएको छ । यसभन्दा पहिले १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा अब २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ ।
१०१ भन्दा माथि २०० किलोवाटसम्मको गाडीमा १० प्रतिशत भन्सार वृद्धि गरिएको छ । यसभन्दा पहिले २० प्रतिशत भन्सार लाग्दै आएकोमा अहिले ३० प्रतिशत पुर्याएको छ । अन्तःशुल्क भने पहिलेको २० प्रतिशत नै कायम रहेको छ ।
२०१ देखि ३०० किलोवाटको विद्युतीय गाडीमा ४० प्रतिशत भन्सार रहेकोमा ६० प्रतिशत पुर्याइएको छ । भने अन्तःशुल्क घटेको छ । पहिले ४५ प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा अब ३५ प्रतिशत कायम भएको छ । १० प्रतिशत अन्तःशुल्क घटेको छ ।
३०० किलोवाटभन्दा माथिका विद्युतीय गाडीमा ६० प्रतिशत भन्सार रहेकोमा २० प्रतिशत वृद्धि गरेर ८० प्रतिशत पुर्याइएको छ भने ६० प्रतिशत रहेको अन्तःशुल्क १० प्रतिशत घटाएर ५० प्रतिशत कायम गरिएको छ ।