काठमाडौँ । ललितकलाको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ आजबाट सुरु भएको छ । प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले उद्घाटन गरे ।
उनले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले ललिलकलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न मुलुकमै पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखेर एउटै छानामुनि विविध कलाको अवलोकन गर्ने अवसर मिल्नु खुसीको कुरा भएको बताए ।
प्रतिष्ठानले ललितकलाकर्मीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न विशेष कार्यहरू गरेको उल्लेख गर्दै मन्त्री तामाङले भने, “यस कार्यक्रम आगामी दिनमा अझ परिष्कृत गरी प्रतिष्ठानले भव्यताका साथ सम्पन्न गर्ने छ भन्ने विश्वास लिएको छु ।”
उनले ललितकलाले मुलुकको पहिचान विश्वमाझ पुर्याउन योगदान दिने र पर्यटन विकासमा टेवा पुर्याउने भएकाले कला सिर्जना समृद्धिका लागि महत्त्वपूर्ण क्षेत्र रहेको धारणा राखे । उनले मन्त्रालयले मुलुकको पहिचान कला सिर्जनाको विकासमा विशेष ध्यान दिने पनि बताए । उनले आज प्रदर्शनीका क्रममा पुरस्कृत कलाकारहरूलाई सिर्जनामा सक्रिय हुन अनुरोध गर्दै बधाई ज्ञापन गरेका छन् ।