काठमाडौँ । एक वर्ष अघिसम्म सुनसान रहने पाल्पाको ऐतिहासिक वसन्तपुर डाँडामा बुटवलको लुम्बिनी केबलकारले बाह्र महिनामा दुई लाखभन्दा बढी पर्यटकलाई भित्राएको छ ।
डेढ दशकअघिदेखि पहल गरिए पनि सार्थक हुन नसकेको बुटवलमा केबलकार सपना चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको आईएमई ग्रुपले नेतृत्व लिएपछि गत वर्ष जेठ १५ देखि सञ्चालनमा आएको थियो ।
बुटवलको गोलपार्क बमघाटमा तल्लो स्टेशन रहेको केबलकारको माथिल्लो स्टेशन पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुर डाँडामा छ ।
स्थानीय समेतको लगानी साझेदारीमा कूल ५ अर्बको परियोजनामा केबलकारमा मात्रै डेढ अर्ब लगानी भएको कम्पनीले जनाएको छ ।
सञ्चालनमा आएको एक वर्षको अवधिमा भारतीय र तेस्रो मुलुकका समेत गरी दुई लाख १० हजार पर्यटक केबलकार चढेका कम्पनीका व्यवस्थापक प्रज्ज्वल घिमिरेले जानकारी दिए । केबलकार चढ्न आउने मध्ये २५ प्रतिशत संख्या भारतीय पर्यटकको रहेको घिमिरेले बताए ।
एक वर्षमा मूल्य अभिवृद्धि कर र स्थानीय कर समेत गरी १३ करोड ५० लाख रुपैयाँको टिकट बिक्री भएको कम्पनीले जानकारी गराएको छ ।
केबलकारले २०८० जेठ १५ देखि वैशाख ३१ सम्म बुटवल उपमहानगरपालिका र पाल्पाको तिनाउ गाउँपालिकालाई प्रत्येक टिकट शुल्कको एक-एक प्रतिशतका दरले ११ लाख २८ हजार रुपैयाँका दरले २२ लाख ५६ हजार रुपैयाँ स्थानीय कर बापत तिरेको छ ।