काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नकारात्मक भाष्यलाई अन्त्य गरेर सम्भावना र अवसरको खोजी गर्दै सरकार समृद्धिको यात्रामा अघि बढिरहेको बताएका छन् ।
गणतन्त्र दिवस-२०८१ का अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री भण्डारीले समृद्धिको यात्रामा देखिएका चुनौती र कठिनाइ अन्त्य गर्न सरकार केन्द्रित रहेको बताएका हुन् ।
“हाम्रो भाग्य र भविष्यको फैसला आफैँले गर्नुपर्नेछ । नीतिगत जटिलतालाई सहजीकरण गर्दै सफलता प्राप्तिको बाटोमा यात्रारत छौँ”, मन्त्री भण्डारीले भने, “कानुनी र संरचनात्मक सुधार अहिलेको आवश्यकता हो । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।”
कृषिजन्य उत्पादनलाई आधार बनाउने, उद्योग र उद्यमशीलता प्रवर्द्धन सरकारको नीति रहेको बताउँदै उहाँले ‘स्टार्टअप’ प्रवर्द्धन गर्न ब्याजदरमा सहुलियत, रोजगारी वृद्धि तथा सेवा प्रवाहमा सुधार ल्याउन सरकार तल्लीन रहेको बताए ।
गणतन्त्र आइसकेपछि केही भएन भन्ने भाष्य निर्माण गर्न खोजिए तापनि भूकम्प र कोरोना महामारीले सिर्जना गरेको प्रतिकूल अवस्थामा पनि मुलुकले पूर्वाधारका क्षेत्रमा फड्को मारेको मन्त्रीले बताए । “सिँचाइ, सडक, ऊर्जा, शिक्षा तथा स्वास्थ्य क्षेत्रका उपलब्धिलाई राससको फोटो प्रदर्शनीले प्रस्ट्याएको छ”, उनले भने ।
बेरोजगारी राष्ट्रिय समस्याका रूपमा रहेको यथार्थ स्वीकार गर्दै सरकारले यसको अन्त्य गर्न सरकारले पहल गरिरहेको बताए । “सम्भावना हाम्रो वरिपरि छ । केही हुँदैन भन्ने भाष्य निर्माण गरेर युवा जनशक्ति जसरी पलायन भइरहेका छन् । हामीले विदेशमा सम्भावना देख्छौँ, विदेशीले नेपालमा सम्भावना देखिरहेका छन्”, उनले भने, “आशालाई सम्भावनामा बदल्न सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित छ ।”
विदेशिएका जनशक्तिलाई फर्काउने राष्ट्रिय सङकल्पका साथ सरकार केन्द्रित भएको उनको भनाइ छ । “त्यसलाई बजेटले मुखरित गरेको छ । यसले नेपाली जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्दै टुङ्गोमा पुर्याउन सक्छ”, मन्त्री भण्डारीले भने ।
यसैबीच, राष्ट्रिय सभा सदस्यद्वय गोपी अछामी र गङ्गा बेल्वासेले पनि राससको तस्बिर प्रदर्शनीको अवलोकन गरे । आजै पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) नेता महेश्वर गहतराजले पनि प्रदर्शनीको अवलोकन गरेका थिए ।