काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक तथा व्यवस्थापकलाई अनुरोध गरेको छ ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरूमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था गर्न भनेको हो ।
यो व्यवस्था १५ दिनपछि पूर्णरुपमा कार्यान्वयनमा ल्याउने महानगरको तयारी छ ।
हाल काठमाडौं उपत्यकाभित्र सञ्चालित सार्वजनिक शौचालय प्रयोग गरेवाफत् सेवाग्राहीले कम्तिमा ५ देखि १० रुपैयाँसम्म बुझाउनुपर्ने बाध्यता छ ।
सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरूलाई आज जेठ १८ गतेदेखि १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेश गर्न पनि भनिएको छ । सो समयावधि पश्चात् महानगरपालिका भित्रका सबै सार्वजनिक शौचालयहरू निःशुल्क सञ्चालन गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।
सूचना विपरीत सार्वजनिक शौचालय प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाले चेतावनी समेत दिएको छ ।
