काठमाडौँ । सुनसरीबाट सशस्त्र प्रहरीले १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ ।
शनिबार राति सुनसरीको हरिनगर गाउँपालिका-५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।
बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ । रकमसँगै कार र चालक हरिनगर गाउँपालिका-५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई नियन्त्रणमा लिइएको छ ।
प्रारम्भिक सोधपुछमा उनले सो रकमको श्रोत खुलाउन सकेका छैनन् । उक्त रकम हुन्डी कारोबारको हुन सक्ने आशङ्का रहेको छ ।