काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गिरिबन्धु टी इस्टेटलगायत सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता समेत रहेका सांसद मनिष झाले बाल मन्दिरको जग्गा दुरुपयोग, बाँसबारीको जग्गा र टीकापुर जग्गा प्रकरणलगायतका अनियमितताका फाइल पनि खोल्ने बताएका हुन् ।
‘बाल मन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, भुटानी शरणार्थी, गिरिबन्धु र टेरामक्स यो सबैको फाइल हामी खोल्न चाहन्छौँ’ उनले भने । विगतमा यी विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको उनले दाबी गरे ।
रास्वपा राजनीतिमा आएको २३ महिना र संसदमा प्रवेश गरेको १७ महिना भएको स्मरण गर्दै उनले सरकारमा पनि दुई पटक गरेर १२२ दिन रहेको बताए । यो अवधिमा आफूहरू सक्दो राम्रो गर्ने प्रयासमा रहेको सहप्रवक्ता झाको दाबी छ ।