काठमाडौँ। मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन ६ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रदेश प्रमुख भण्डारीलाई आज बेलुकासम्म ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेको हो ।
नयाँ सरकार गठनका लागि सहमति जुटाउन केही दिनदेखि एमाले संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी संसदीय दलका नेता भरतप्रसाद साह, जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव काठमाडौँमा छन् । लोसपा र नेकपा एस जनमतको नेतृत्वमा आउन सहमत भएपछि उनीहरू आज जनकपुरधाम फर्किदैछन् ।
नयाँ सरकार गठनका लागि ६३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई आजै ध्यानाकर्षण पत्र बुझाउने एमाले संसदीय दलका नेता यादवले बताए ।
मधेशमा जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतको सरकार चलाइरहेका छन् । माओवादी र एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्थाअनुसार ज्येष्ठ २९ गतेभित्र विश्वासको मत लिनुपर्छ ।
जेठ २१ गते प्रदेशसभाको तेस्रो अधिवेशन सुरु हुँदैछ ।