काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विदेश जाने युवाहरूमाथि ठगी भइरहेको बताएका छन् ।
म्यानपावर व्यवसायीले गैरकानुनी रूपमा विदेश जाने युवाहरूसँग रकम लिइरहेको तर सरकार मुकदर्शक बनेको उनले बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले वैदेशिक रोजगारीमा जाने युवाहरूमाथि चरम अत्याचार भइराखेको बताए । त्यस्तो अत्याचार नरोकिए जनताबाटै विद्रोह हुन सक्ने उनको चेतावनी छ ।
सांसद साहले भने, ‘वैदेशिक रोजगारीका सन्दर्भमा पीडकहरू नै मालामाल भइरहेका छन् । यसलाई रोकिएन भने जनता चुप लागेर बस्छन् जस्तो लाग्दैन । यसकारण सरकारले समयमै ध्यान देओस् ।’
‘१० हजारभन्दा बढी सेवा शुल्क लिन नपाउने प्रावधान छ । तर म्यानपावर एजेन्टले लाखौँ रुपैयाँ असुल गरिरहेका छन् । युवाले गैरकानुनी रूपमा दिएको रकम फिर्ता पाउँछन् कि पाउँदैनन्,’ सांसद साहको प्रश्न छ ।