काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद महीन्द्र राय यादवले प्रत्येक निर्वाचन क्षेत्रमा सामूहिक खेती प्रणालीको विकास गर्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद यादवले प्रत्येक निर्वाचन क्षेत्रमा सामूहिक खेती प्रणालीको विकास गर्नुपर्ने बताएका हुन् ।
‘यो बजेटमा नेपाली जनतालाई प्रत्येक खेतमा सिँचाइ व्यवस्था भइदियो भने सम्पूर्ण नेपाली जनताको हातमा काम हुन्छ । यसले मुलुकलाई समृद्धिको बाटोमा अगाडी बढाउँछ । सबै सांसद आफ्नो निर्वाचन क्षेत्रमा पहाड र तराई, मधेश एउटा-एउटा आफ्नो निर्वाचन क्षेत्रमा १० बिघाहामा सामूहिक खेतीको विकास गर्न सक्यौँ भने यसले सबैलाई चेतना दिन्छ,’ पूर्वकृषिमन्त्रीसमेत रहेका यादवले भने ।
सांसद यादवले रासायनिक मलका कारण माटोको उर्वराशक्तिमा ह्रास आइरहेको भन्दै जैविक मलको प्रयोग गर्नुपर्नेमा जोड दिए ।