काठमाडौँ । सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा गत ८ माघ २०८० मा भएको घटना मधेश प्रदेश सभाको प्रदेश मामिला समितिले छानबिन गर्ने भएको छ ।
उपेन्द्र यादवले उक्त भवनको शिलान्यास गरेको कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले विरोध जनाउँदा तत्कालीन शिक्षामन्त्री तथा जनमतका सांसद महेशप्रसाद यादवमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।
जनमत पार्टीले उक्त घटनाको संसदीय छानबिन गर्न माग गर्दै आएको थियो । सोमबारको प्रदेश सभा बैठकमा सभामुख रामचन्द्र मण्डलले उक्त घटना छानबिनको जिम्मा प्रदेश मामिला समितिलाई दिएको जानकारी गराएका छन् । गत वैशाख ४ गते चौथोपटक मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने बेला प्रदेश सभामा भएको तोडफोड घटना पनि सोही समितिले छानबिन गर्ने भएको छ ।