काठमाडौँ । प्रतिनिधि सभामा भर्खरै इन्ट्री मारेका इलाम-२ का सांसद सुहाङ नेम्वाङले आज सदनमा पहिलो सम्बोधन गरेका छन् । बजेटमाथिको छलफलमा भाग लिन रोष्ट्रममा उभिएका एमाले सांसद सुहाङले आफू पहिलो पटक बोल्न लागेकाले बजेट बाहेकका विषयमा पनि बोल्ने सुविधा छ भन्दै छोटो र स्पष्ट कुरा राखे ।
उनले आफू नयाँ सांसद र युवा पनि भएकाले जनताहरूको आशा र अपेक्षा अझ बढी प्रकट भएको बताए ।
‘जनताहरूको हामीप्रतिको आशा, भरोसा र विश्वास मसँग आलो छ । जनताहरूको आशा, अपेक्षा, माग र आक्रोश भर्खरै सुनेर आएको छु । म अलि युवा पनि छु । युवाहरूको परिवर्तनको हुटहुटी, चाहना र समस्याहरूलाई नजिकबाट छामेको छु । जनताहरूको ती आशा, माग र समस्या सम्बोधनका लागि यो बजेट पर्याप्त छ वा छैन ? हाम्रो सामु धेरै प्रश्नहरू छन् ।’
बजेट सुन्दा ‘अब देश बन्छ’ भन्ने लाग्ने तर फेरि एक वर्षपछि परिणाम हेर्दै गर्दा ‘घुमी फिरी रुम्जाटार’ जस्तो देखिने भन्दै सुहाङले कार्यान्वयनको समस्या केलाउन आग्रह गरे ।