काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बजेटबारे बोल्ने विषयमा आफू अलमलिएको टिप्पणी गरेका छन् ।
बजेटमाथि छलफलको क्रममा उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधान सेनापतिको संज्ञा दिएका छन् ।
प्रतिनिधि सभा बैठकमा उनले भने, ‘अहिले आएको बजेटमा गठबन्धनको मुख्य दल एमालेका जर्साब, कर्साबहरूले के भन्नुभयो भन्ने मेरो धेरै टिप्पणी छैन । तर, प्रधान सेनापतिले नै यो बजेट हाम्रो होइन, रंग मिल्दैन भनेपछि यसको स्वामित्व कसले लिन्छ ?’
उनले बजेटमाथि नराम्रो टिप्पणी गर्दा ६-८ महिनापछि आफैले काँध हाल्नुपर्ने अवस्था आउन सक्ने बताए । प्रधानमन्त्री र अर्थमन्त्रीले आफूहरूसँग परामर्श नगरी बजेट ल्याएको भन्दै ओलीले असन्तुष्टि जनाएको सन्दर्भमा गगनले यस्तो टिप्पणी गरेका हुन् ।