काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले कार्यादेश बनाउन गठित कार्यदलका सदस्यहरूसँग सुझाव लिने भएको छ ।
समितिको दोस्रो पटक बसेको शुक्रबारको बैठकले कार्यदलमा रहेका सदस्यहरूसँग २ असारमा छलफल गर्ने निर्णय गरेको हो ।
कार्यादेशको भाव थप बुझ्नका लागि त्यो बनाउन संलग्न कार्यदलका सदस्यहरूका कुरा सुन्ने निर्णय भएको काँग्रेस सहमहामन्त्री एवं समिति सदस्य बद्री पाण्डेले जानकारी गराए ।
कार्यविधिलाई थप समृद्ध बनाउनका लागि आज पारित नगरिएको समिति सदस्य पाण्डेले जानकारी दिए ।
समितिको पहिलो बैठकमा भएका निर्णयानुसार सचिवालयले कार्यविधि आजको बैठकमा पेस गरेको थियो । सहकारीका सम्बन्धमा हालसम्म बनेका आयोग, कार्यदल, समिति लगायतले गरेका अध्ययन प्रतिवेदन संकलन गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ ।
तीन महिनामा समितिले काम सक्ने गरी कार्यविधि पेस गरिएको छ । बैठक बस्ने, निर्णय गर्ने, सभापतित्व गर्ने, समय लिने, बैठकका आचारसंहिता लगायत विषय कार्यविधिमा समावेश गरिएको छ ।