काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले गणतन्त्र प्राप्तिपछि मुलुक विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताएका छन् ।
गणतन्त्र दिवस-२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उनले गणतन्त्रपछिको उपलब्धि राससमा प्रदर्शित तस्बिरले चित्रित गरेको उल्लेख गरे ।
“गणतन्त्रको उपलब्धिलाई प्रदर्शित तस्बिरले चित्रित गरेको छ । यसले व्यवस्थाप्रतिको विश्वास र भरोसा जगाएको छ”, रक्षामन्त्री उप्रेतीले भने, “अहिले भइरहेका कामलाई छोपेर धमिलो पानीमा माछा मार्न सकिन्छ की भन्ने गतिविधि भएका थिए । अब, यी कुराहरू जनतामाझमा गएपछि तथा भइरहेका कामको परिणाम आएपछि गणतन्त्र ठीक थियो कि थिएन भन्ने कुरा पुष्टि भइसकेको छ । गणतन्त्रपछिका उपलब्धिलाई राससले तस्बिरमार्फत उजागर गरेकामा धन्यवाद दिन चाहन्छु ।”
गणतन्त्र जनताका पक्षमा रहेको र जनताको विश्वास जित्नेगरी काम भइरहेको उल्लेख गर्दै रक्षामन्त्री उप्रेतीले भइरहेका कामलाई प्रोत्साहित गर्दै जनताका पक्षमा अगाडि बढ्नुपर्छ भन्ने सन्देश तस्बिर प्रदर्शनीले दिएको बताए। उनले भने, “सम्पन्न भइसकेका बाँकी कामलाई पनि समेटेर जनतालाई आशा जगाउने कार्यमा सबै जिम्मेवार भएर लाग्नुपर्छ ।”
मन्त्री उप्रेतीले व्यवस्था परिवर्तन गरेर मात्रै मुलुक विकास र समृद्धिको दिशामा अगाडि बढ्न नसक्ने उल्लेख गर्दै सुरु गरिएका परियोजना समयमै सम्पन्न गर्ने हो भने अब, मुलुक बन्न एक दशक पनि नलाग्ने ठोकुवा गरे । उनले राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका द्रुतमार्ग समयमै सम्पन्न गर्न आफूले पहलकदमी लिने बताए । उनले भने, “द्रुतमार्ग निर्माणमा देखिएका कानुनी उल्झन, कोरोना महामारीलगायत विषयले जेलिएको थियो । अहिले राष्ट्रिय गौरवका आयोजनामा विशेष व्यवस्था गरेर चाँडो सम्पन्न गर्नेतर्फ सरकार अग्रसर रहेकाले सञ्चालित आयोजनालाई गति दिएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन सरकार प्रतिबद्धताका साथ लागेको छ ।”
मन्त्री उप्रेतीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, रासस सञ्चालक समितिका सदस्य कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो, प्रधान सम्पादक उत्तम सिल्वाललगायतले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराएका थिए।
यही जेठ १० गतेदेखि सुरु भएको उक्त प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् ।
विसं २०७२ मा गएको ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरको पुनः निर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर समेटिएका छन् ।