काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालये स्वीकृति प्राप्त गरी लामो समय नवीकरण नभएका शैक्षिक परामर्श दातृ संस्थाहरूको नवीकरण गर्ने निर्णय गरेको छ।
निर्देशिका बमोजिम संस्था नवीकरण गर्नुपूर्व मन्त्रालयको उच्च शिक्षा महाशाखाको नेतृत्वमा अनिवार्य स्थलगत अनुगमन गरिने शिक्षा मन्त्री सुमना श्रेष्ठको सचिवालय जनाएको छ ।
सचिवालय सदस्यका अनुसार हालसम्म शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ अनुसार एक हजार ४७३ वटा शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गर्ने गरी दर्ता भएका छन्। तर, मन्त्रालयका अनुसार २०७५ साल साउन १६ गतेबाट संस्था दर्ता तथा सोका लागि आवेदन, नवीकरण लगायत कार्यहरू रोकिएको थियो।
यस्तै, शैक्षिक मेला सञ्चालन अनुमति समेत दिइएको थिएन। अब नवीकरण भएका संस्थालाई मात्रै शैक्षिक मेला सञ्चालनको अनुमति दिइने बताइएको छ । बिना अनुमति आफूखुसी सञ्चालन हुने शैक्षिक मेलालाई कारवाही गरिने छ।
त्यस्तै, मन्त्रालयमा सूचीकृत भई सकेका संस्थाको विवरण, नामसारी तथा ठाउँसारीको अवस्था, सेवा प्रदान गरेका विद्यार्थीको विवरण मन्त्रालयले नपाएको सचिवालयको भनाइ छ।