काठमाडौँ । नरदेवी आयुर्वेद चिकित्सालयका चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवलाई जनशक्ति अभावका कारणले अपेक्षित सेवा प्रवाह गर्न नसकिएको गुनासो गरेका छन् ।
आइतबार आकस्मिक अनुगमनमा पुगेका मन्त्री यादवलाई अस्पतालका कार्यकारी निर्देशक डा. रामदेव यादवले चिकित्सकदेखि नर्सिङ स्टाफसम्मको अभाव रहेको र त्यसमाथि दरबन्दी नथपिँदा सेवाको गुणस्तर कायम राख्न चुनौती भइरहेकोले यसबारे गम्भीर भएर समस्या समाधान गरिदिन ध्यानाकर्षण गराए ।
डा. यादवले अत्यावश्यक उपकरणको समेत अभाव रहेको जानकारी गराएका छन् । स्वास्थ्य मन्त्री यादवले नेपालकै प्रमुख आयुर्वेदिक चिकित्सालयका रूपमा स्थापित नरदेवीलाई सबल बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।
मन्त्री यादवले चिकित्सालयमा थन्किएको एमआरआई मेसिन चाँडै सञ्चालनमा ल्याउन पनि निर्देशन दिए । अनुगमनको क्रममा मन्त्री यादवले विभिन्न शाखा, फार्मेसी, ओपीडी, शल्यक्रिया कक्षलगायतको निरीक्षण गरी उपचारत बिरामी, कुरुवासँग समस्याबारे बुझेका थिए ।