काठमाडौँ । आन्दोलनमा उत्रिएका कोशी प्रदेशका लेखा अधिकृतहरूले आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरलाई ज्ञापन पत्र बुझाएका छन् ।
लेखा अधिकृत भोलानाथ नेपालको नेतृत्वमा लेखा अधिकृतहरूले शुक्रवार मन्त्री मगरलाई ज्ञापन पत्र बुझाएको हो । प्रदेश निजामती ऐनले लेखा अधिकृतलाई विभेद गरेको गुनासो गर्दै प्रदेश तहका लेखा अधिकृतहरूले काम छाडेर आन्दोलनमा उत्रिएका छन् ।
लेखा अघिकृतहरुको आन्दोलनका कारण कोशी प्रदेशका १४ जिल्लामा काम बन्द छ भने प्रदेश सरकारको खर्च शून्य छ । आर्थिक वर्षको अन्त्यमा लेखा अधिकृतहरू आन्दोलनमा उत्रिएपछि सरकारी भुक्तानी रोकिएको हो ।
ऐन संशोधन गरेर वृत्ति विकास न्यायोचित बनाउनु पर्ने माग उनीहरूको छ । माग सम्बोधन नभएसम्म काममा नफर्किने लेखा अधिकृतहरूले बताएका छन् ।
सम्बन्धित समाचार : निजामती ऐनले विभेद गरेको भन्दै कोशीका लेखा अधिकृत आन्दोलनमा