काठमाडौँ । कोशी प्रदेश सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ ।
शुक्रबार राति नौ बजेसम्म बजेटमाथिको छलफलपछि आज बसेको प्रदेश सभाको १३ औँ बैठकले विनियोजन विधेयक २०८१ र अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ पास गरेको हो ।
१ असारमा सरकारले चालु आर्थिक वर्षको भन्दा एक अर्ब कम ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । ४ असारबाट बजेटमाथि छलफल सुरु भएको थियो । चार दिन लगातार छलफलपछि बजेट पारित भएको हो ।
बजेट पारित गर्नुअघि नेपाली काँग्रेस सांसद गोपाल तामाङ र राप्रपा सांसद सविना बजगाईँले पेस गरेको खर्च कटौतीको प्रस्ताव भने अस्वीकृत भएको थियो । बजेट पारितपछि प्रदेश सभाको बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको छ ।