गोदार (धनुषा) । मधेस प्रदेश सभाबाट बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवालले महिला बालबालिका तथा सामाजिक न्याय समितिको प्रतिवेदनसहितको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
मन्त्री जयसवालले बालिका संरक्षणसम्बन्धी कानुन ल्याउने पहिलो प्रदेशका रूपमा मधेस प्रदेशको नाम आएको उल्लेख गरे । उनले माता जानकीको भूमिबाट पहिलो बालिका संरक्षणसम्बन्धी कानुन पारित भएको बताए ।
उनले प्रदेशमा छोरी बीमा कार्यक्रम फेरि सुरु गर्न रु. १२ करोड थप बजेट व्यवस्था गरेको जानकारी दिए । बालिका संरक्षणमा काम गर्दा बालकलाई अन्याय हुन नदिन सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो । उनले भने, “सकारात्मक विभेदमार्फत छोरीहरूलाई सशक्त बनाउन आवश्यक छ ।”
विधेयकमा १७ जना प्रदेश सभा सदस्यले धारणा राखेका थिए। उनीहरूले उठाएको विषयलाई सम्बोधन गर्दै मन्त्री जयसवालले बालिका संरक्षण ऐनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउन प्रहरी समायोजनको आवश्यकता औँल्याए ।