काठमाडौँ । राजश्व अनुसन्धान विभागको ‘असुली धन्दा’बारे अनुसन्धान गर्न राष्ट्रिय अनुसन्धान विभागलाई पत्राचार भएको छ । विभागका महानिर्देशक चक्र बुढाको मोबाइलबाट अनधिकृत व्यक्तिले फोन गरेर व्यवसायीहरूलाई तर्साई ‘असुली धन्दा’ चलाएकोबारे अनुसन्धान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जासुसी संस्था राष्ट्रिय अनुसन्धानलाई पत्राचार गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विशेष सूचना अनुसार ‘विभागका सम्पूर्ण कामकारबाहीसहित कार्यरत कर्मचारीहरूका आचरण’समेत निगरानी गर्ने गरी जासुसी संस्थालाई पत्राचार गरिएको हो ।
‘महानिर्देशकको मोबाइलबाट अनधिकृत व्यक्तिले ब्यवसायीहरुलाई फोन गरी बार्गेनिङ गरेको विषय बाहिरिएसँगै विभागका सम्पूर्ण गतिविधि निगरानी गर्ने गरी पत्राचार भएको हो’, प्रशासन उच्च स्रोतले सिंहदरवार विशेष ब्युरोसँग भन्यो ।
पछिल्लो समय व्यवसायीहरूबाट व्यापक गुनासो आएसँगै विभागमाथि विशेष निगरानी राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
यो विषयले संसदमा समेत चर्चा पाएसँगै यति बेला कर्मचारीतन्त्रमा ठुलै कम्पन पैदा भएको छ ।
सम्बन्धित समाचार : राजस्व अनुसन्धान विभागमा कसले चलायो ‘असुली धन्दा’ ? सांसदले मागे जवाफ