काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि) का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्कालका लागि काम गर्न रोक लगाएको छ ।
उड्डयन सुरक्षामा गम्भीर खेलाँची गरेको भन्दै प्राधिकरणले निगमको ‘एकाउन्टेबल म्यानेजर’ रहेका कार्यकारी अध्यक्ष अधिकारीलाई अर्को निर्णय नभएसम्मका लागि काम गर्नबाट रोक लगाएको हो ।
प्राधिकरणका अनुसार निगमले आफूसँग रहेका दुईवटा ‘वाइड बडी’ जहाजमध्ये ‘ए३३०-२००’ सिरिजको दर्ता नम्बर ‘९एन-एएलवाई’ जहाज नियमित मर्मत (सी-चेक) गर्न विना अनुमति युरोपको इटाली लगेपछि एकाउन्टेबल म्यानेजर अधिकारीलाई कारबाही स्वरूप काम गर्न रोकिएको हो ।
प्राधिकरणका अनुसार वायुसेवा कम्पनीहरूले जहाज मर्मत गर्न लैजाने विदेशका कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट पूर्वअनुमति लिएको हुनुपर्ने प्रावधान छ ।
तर, प्राधिकरणबाट अनुमति नै नपाएको इटालीको एटिटेक भन्ने जहाज मर्मत कम्पनीमा निगमले आफ्नो वाइड बडी जहाज मर्मत गर्न लगेको छ ।
अनुमति नलिएको कम्पनीमा अनुमतिविना जहाज लगेर उड्डयन सुरक्षामा गम्भीर खेलाँची गरेको प्राधिकरणको ठहर छ ।
निगमले त्यही कम्पनीमा जहाज मर्मत गर्न लानु थियो भने विगतमै त्यो कम्पनीले अनुमति लिएको भए कुनै समस्या हुने थिएन भन्ने प्राधिकरणको भनाइ छ ।
निगमले इटालीमा जहाज छाडेर आएको छ भने त्यहाँ निगमका कोही पनि प्रतिनिधि छैनन् । त्यसबाट पनि प्राधिकरण चिढिएको हो ।
यहाँबाट वाइड बडी जहाज उडाएर लाने क्याप्टेनहरू महेश्वरमान डंडोल र रमन घिमिरे, अपरेसन डाइरेक्टर क्याप्टेन दीपु ज्वार्चन र एयर वर्दिनेस म्यानेजर ज्ञानबहादुर कुँवरलाई पनि अर्को निर्णय नभएसम्म काम गर्नबाट रोकिएको प्राधिकरणले जनाएको छ।