काठमाडौँ । कृषि क्षेत्रमा रहेका कर्मचारीहरूले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा धर्ना दिएका छन् । उनीहरूले आइतबार बिहानै मन्त्रालय अगाडि धर्ना दिएका हुन् ।
कृषि मन्त्रालयमा समायोजन भएका कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकोले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै मन्त्रालयमा धर्ना दिएका हुन् । उनीहरूले यसअघि मन्त्रालयका सचिव (कृषि विकास) डा. दीपककुमार खराललाई सामूहिक बिदा बुझाएका थिए । विगत १७ वर्षदेखि काम गरेका कर्मचारीको बढुवा नभएको र अब पनि बढुवा हुने सम्भावना नरहेकोले आन्दोलनमा जानुको विकल्प नदेखेको एक कर्मचारीले बताए ।
२०७५ मन्त्रालयमा रा.प.प्र. प्राविधिक कृषितर्फ दरबन्दीमा २२ र पुलमा ५ जना गरी २७ जना, रा.प.द्वि. प्राविधिक कृषितर्फ दरबन्दीमा ८१ र पुलमा १०१ गरी १८२ जना, रा.प.तृ. प्राविधिक कृषितर्फ दरबन्दीमा १७३ र पुलमा १२७ गरी ३०० जना कर्मचारी समायोजन भएका थिए । समायोजन भएका मध्ये केही कर्मचारी वृत्ति विकास बिनै अवकाशमा गएका छन् ।
सम्बन्धित समाचार : कर्मचारीहरूले बुझाए कृषि सचिव खराललाई सामूहिक बिदा, आन्दोलनको तयारी