काठमाडौँ । नेपाल कृषि सेवाका कर्मचारीहरूले कृषि तथा पशुपन्छी विकास मन्त्री र सचिवसमक्ष चार बुँदे माग पेस गरेका छन् ।
कृषि मन्त्री ज्वाला कुमारी साह र सचिव (पशुपन्छी) डा. राजेन्द्र कुमार मिश्रलाई कर्मचारीहरूले आइतबार मन्त्रालयमा चार बुँदे माग बुझाएका हुन् । आफ्नो वृत्ति विकास रोकिएकोले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका कृषि मन्त्रालयमा समायोजन भएका कर्मचारीहरूले मन्त्री र सचिवलाई माग पत्र बुझाएका हुन् ।
संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषितर्फका पुल दरबन्दीमा रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने, संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषि तर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने उनीहरूको माग छ ।
कृषि सेवाको कृषि तर्फका समूहको हकमा सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूर्ति गर्न भएको परमादेश कार्यान्वयन हुनुपर्ने र नेपालको संविधान र कार्यविस्तृतिकरण प्रतिवेदनमा उल्लेख भए अनुसार संघीय निकायको कार्यविवरणको आधारमा उपयुक्त संगठनात्मक संरचना निर्माण गर्नुपर्ने माग कर्मचारीहरूको छ । कर्मचारीहरूले मन्त्रालयमा धर्नासमेत दिएका थिए ।
सम्बन्धित समाचार : कृषि मन्त्रालय अगाडि कर्मचारीहरूको धर्ना