काठमाडौँ । एकल महिला सुरक्षा कोषलाई कार्यविधि बनाएर सञ्चालन गर्न माग गरेका छन् । एकल महिलाहरूको अवस्था दयनीय बन्दै गएको भन्दै एकल महिलाहरूले यस्तो माग गरेका हुन् ।
आज राष्ट्रिय महिला आयोगमा आयोजित एकल महिलाहरूको सुरक्षा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत पृष्ठपोषणको लागि राष्ट्रियस्तरका सरोकारवालाहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा एकल महिलाहरूले आफूलक्षित कोष सञ्चालन गर्न सामूहिक रूपमा आवाज उठाएका हुन् ।
दोस्रो कार्यविधि नबनेकै कारण ५ वर्षदेखि बजेट फ्रिज भएको उनीहरूले गुनासो गरेका छन् । महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ५ वर्षदेखि एकल महिलाको लागि छुट्टाइएको ५ करोड बजेट फ्रिज भएर बसेको मानव अधिकार आयोगकी सदस्य लिली थापाले बताइन् । उनले जतिसक्दो चाँडो कार्यविधि बनाएर उक्त रकम एकल महिलाको हकहितमा प्रयोग गर्न आग्रह गरिन् ।
उनले यसविषयमा पटक-पटक महिला मन्त्रालयमा पत्र पठाए पनि कार्यान्वयन नभएको गुनासो गरिन् । महिला मन्त्रालयको लाचारीपनले लाखौँ एकल महिला प्रभावित भएको उनले बताइन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार २०७८ को जनगणना अनुसार १ लाख ८१ हजार १५५ जना एकल महिला छन् ।
एकल महिलाको पीडामा बुझेर पनि बुझ पचाउने धेरै भएको र अब हरेक कोटामा समानुपातिक रूपमा राखिनुपर्ने अभिवक्ता तथा डब्ल्यु एचआरकी अध्यक्ष कविता पाण्डेले बताइन् । एकल महिलालाई स्थानीय तहले समेत भेदभाव गरेको बताइन् ।